प्रकाश बन्जारा
इटहरीः नेपाल भारतको सिमाना जोगवनी देखि संखुवासभाको किमाथांकासम्म जोड्ने भनेर निर्माण थालिएको ६ लेन सडक आयोजना अन्तर्गत इटहरीमा रोकिएको सडक विस्तारको काम इटहरी उपमहानगरका नगरप्रमुखको सक्रियता पछि भटाभट शुरु भएको छ ।
इटहरीको विराटनगर लाइनमा केहि घरहरुका धनीले अवरुद्ध गरेपछि रोकिएको सडक निर्माणको काम ६ लेन सडक निर्माण आयोजनाले प्याक अप गरेर हिँड्नै लाग्दा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको सक्रियता पछि निर्माण शुरु भएको हो ।
सडक निर्माणका लागि भत्काउनुपर्ने केहि घरहरु घर धनीको जिद्धी र अदालतसम्मको उजुरीले भत्काउन नसकेपछि ६ लेन सडक निर्माण आयोजनाले काम छाडेर जानै लागेको थियो । क्षतिपुर्ती पाउनुपर्ने नत्र घर भत्काउनै नदिने भन्दै अदालतमा मुद्धा हालेका घरधनीहरुको मुद्धाको सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश नै जारी गर्यो तर आफ्नो शहरमा आएको आयोजनालाई त्यक्तिकै जान दिनुहुँदैन त्यहाँमाथि गौरवको आयोजना सम्पन्न गर्न सहयोग गर्नुपर्छ भनेर मेयर पौडेलले संवादको वाटो मार्फत घरधनीहरुसँग छलफल गरेपछि इटहरीको विराटनगर लाइनका घरधनीहरु आफँै आफ्नो घर भत्काउन तर्फ लागिपरे ।
घर नभत्काउन अदालतले दिएको अन्तरिम आदेशका बारेमा मेयर पौडेल पछि मात्रै जानकार बने जतिवेला अदालतले मानहानी गरेको भनेर पत्राचार गर्यो तर घरधनीहरुको समझदारी भएपछि मानहानीको मुद्धालाई जवाफ पठाउन उपमहानगरलाई त्यक्ति गाह्रो भएन ।
आयोजनाले छाडेर जानै लागेको बेला त्यहाँमाथि अदालतले अन्तरिम आदेश नै जारी गरेको बेला कसरी आयोजनालाई निरन्तरता दिन सम्भव भयो त भन्ने प्रदेश पोर्टलको प्रश्नमा मेयर पौडेलले संवादकै माध्यमबाट सम्भव भएको प्रतिक्रिया दिएका छन् ।
आयोजनाले यस भन्दा पहिलेका जनप्रतिनिधिलाई समेत यस विषयमा संवादको माध्यमबाट गाँठो फुकाउन आग्रह भने नगरेको होइन तर त्यसताका यसरी संवादको काम नभएको बताइन्छ । त्यसैकारण पनि यति ठुलो राष्ट्रिय गौरवको आयोजना इटहरीको मुटुमै अधुरो हुने सम्भावना छाएको थियो ।
गत हप्ता विराटनगर लाइनका घरधनीहरुले आफ्नो घर आफैँ डोजर लगाएर भत्काएका छन् भने अहिले ६ लेन सडक निर्माणको काम समेत सुरु भइसकेको छ । उपमहानगरले त झनै आफ्नो स्वामित्वमा रहेको तरहराको पानीपियादेखि धरान जोड्ने सेउँती खोला सम्मको ६ लेन सडकको काम सुचारु गर्न ध्यानाकर्षण गराएको छ ।
आयोजनाको काम लामो समयदेखि सुरु भएता पनि सम्पन्न भने नभएको र त्यहाँ मानवीय क्षति समेत भएको भन्दै उपमहानगरका नगरप्रमुख हेमकर्ण पोडेलले बुधबार ६ लेन सडक निर्माण आयोजनाका प्रमुखलाई पत्राचार गर्दै काम सम्पन्न गरीदिन अनुरोध गरेका छन् । उनले बारम्बार ठेकेदारसँग संवाद गर्दा समेत आयोजनाको काम चुस्त रुपमा नभएको भन्दै सुचारु गरी सम्पन्न गरिदिन आग्रह गरेका हुन ।