प्रकाश बन्जारा 

इटहरीः इटहरी उद्योग वाणिज्य संघका नव निर्बाचित अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालको पहिलो काम बैंकको व्याजदर र इटहरीको पार्किङ्ग व्यवस्थापन तर्फ हुने बताएका छन् । 

बुधबार भएको नव निर्वाचित कार्यकारीणी समितिको पदस्थापन कार्यक्रम पछि प्रदेश पोर्टलसँग बोल्दै अध्यक्ष पराजुलीले इटहरी उद्योग वाणिज्य संघले शहर सौन्दर्यकरणको नाममा भएको पार्किङ्ग निषेधको समस्याले धेरै व्यावसायी आक्रान्त भएको भन्दै त्यसको समाधानका लागि इटहरीको स्थानीय सरकारसँग बसेर समस्याको निराकरण गर्न आफु लागि पर्ने बताए । 

इटहरीमा मेला महोत्सव गर्न स्थान अभाव भएको भन्दै त्यसको समाधानका लागि प्रादेशिक प्रदर्शनी स्थलको निर्माणको पहल गर्ने, इटहरीमा व्यापार प्रवद्र्धनका लागि टे«ड फेयर तथा बेरोजगारहरुको लागि जव फेयरको आयोजना गर्ने साथै व्यावसायीहरुको लागि निः शुल्क राजश्व र लेखा सम्बन्धि परामर्श दिने योजना नव निर्वाचित कार्यसमितिले तयार गरेका छन् । 

व्यावसायीहरुको साझा समस्याहरु भएकाले सबै बसेर समाधान गर्ने नव निर्वाचित अध्यक्ष पराजुलीले बताएका छन् । 

पदस्थापन कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको पछिल्लो गतिविधिले व्यावसायीलाई अभिभावक विहिन भएको महसुस गराएको बताए । 

329053329_725843628982979_8626404890812213139_n

उनले ८ प्रतिशतमा लिएको ऋणको व्याज १८ प्रतिशत हुँदा समेत राज्यका निकायहरु व्यावसायीलाई परेको समस्याको बारेमा बुझ्न तयार नभएको बताउँदै अवको नेतृत्वले माथिको अपेक्षा नगरीकनै काम गर्नुपर्ने आवश्यकता रहेको औल्याए । 

नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बताउँदै प्रमुख अतिथी ढकालले २३ बर्षदेखि कहिले जनआन्दोलन,कहिले भुकम्प कहिले कोरोना महामारी तथा कहिले मधेश आन्दोलनका कारण धाराशायी भएको अर्थतन्त्र विदेशी सहयोग नपाउने हो भने श्रीलंकाको अवस्थामा पुगिसकेको समेत बताएका थिए । 

कार्यक्रमका विशेष अतिथी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य टंक दुलालले उद्योग वाणिज्य संघले सचिवालयलाई व्यवस्थित बनाउनु पर्ने धारणा व्यक्त गरे उनले उद्योग वाणिज्य संघले पछिल्लो समय व्यावसायीक ट्रयाक छाडेको हो कि जस्ता भएको बताउँदै उद्योगका क्षेत्रमा भएको समस्या र उद्योगहरुको पलायको समस्याको जरो पत्ता लगाएर त्यसको समाधान तर्फ समेत लाग्नुपर्ने धारणा व्यक्त गरे । 

उद्योग वाणिज्य संघ इटहरीका पुर्व अध्यक्ष भिमबहादुर पौडेलले आफ्नो कार्यकालमा इटहरीको आवश्यकतालाई महशुस गर्दै सार्वजनिक शौचालय हस्तान्तरण गरेको बताए । उनले पछिल्ला ३ वटा महत्वपुर्ण कार्यक्रममा इटहरी उपमहानगरपालिकाले आफुहरको निमन्त्रणालाई अस्वीकार गर्दै नआएको बताउँदै पौडेलले स्थानीय सरकारले स्थानीय उद्योगी तथा व्यावसायीलाई वायस गरेर अगाडी बढ्नु राम्रो नहुने बताए । ‘उद्योगी व्यापारीसँग सहकार्य गरेर अगाडी बढ्नु भयो भने शहरले मुहार फेर्ने छ र उज्यालो हुनेछ व्यापारीहरुलाई वायस गरेर अघी बड्दा उपमहानगरले एक्लै शहरलाई बनाउन सक्दैन ।’पौडेलले  भने ।