प्रकाश बन्जारा  

इटहरीः  सुनसरीको दुहवी नगरपालिकाले ८ करोड १० लाख रुपैँया खर्च गरेर तयार गरेको कोल्ड स्टोर सन्चालन हुने तयारीमा रहेको छ । 

कोल्ड स्टोरको निर्माण कार्य सकिएको र कार्यविधि समेत बनिसकेको नगरपालिकाका मेयर वेदनारायण गच्छादार बताउँछन् । 

दुहवीमा भएको गुद्री र फलफुल तरकारी बजारलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले कोल्ड स्टोरको परियोजना सुरु गरेको थियो । 

नव निर्मित कोल्ड स्टोरमा १०० टन फलफुल तथा ७० टन तरकारी स्टोर गर्न सकिने नगरप्रमुख गच्छारको भनाई छ । नगरपालिकाले बजारलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक बर्षबाट स्थानीय कृषकलाई सहुलियत हुने गरीको तयारी थालेको नगरप्रमुख बताउँछन् । सानो शुल्कमा स्थानीय कृषक तथा व्यापारीले कोल्ड स्टोरमा फलफुल तथा तरकारी राख्न सक्ने र त्यो स्टक नसक्दा सम्म नगरमा अन्य सोही प्रकारको फलफुल तथा तरकारी नभित्र्याउने गरी कार्यविधि बनाइएको छ । 

332242642_1262312974670121_1560117033103027468_n

नगरपालिकाले बजारलाई व्यवस्थापन गर्नका लागि बजार व्यावस्थापन समिति गठन गरेको र अव बजारको सम्पुर्ण व्यवस्थापनको काम सोही समितिले गर्ने भएको छ । राजन बस्नेतको अध्यक्षतामा गठन भएको बजार व्यवस्थापन समितिले कसरी बजारलाई व्यवस्थित गर्ने भनेर केही पालिकाको भ्रमण समेत गरीसकेको छ । नगरपालिकाले बजार व्यवस्थापन टोलीलाई ७ दिनको तालिम सन्चालन गरेको मेयर गच्छादारले बताए । 

केन्द्रिय सरकारको योजनामा कोशी प्रदेश भरीनै उत्कृष्ट भएर दुहवी नगरपालिकाले बजार व्यवस्थापनमा विश्व बैँकबाट ३६ करोड रुपैँयासम्मको अनुदान समेत पाएको छ । बजार र हटिया व्यावस्थापन गर्नका लागि विभिन्न पुर्वाधारका काम गर्न उक्त अनुदानको रकम सदुपयोग गरिने दुहवी नगरपालिकाले बताएको छ । नगरपालिकाले नाला, पार्किङ, चारैतिर सेड तथा सेल्टर साथै मासुजन्य पदार्थको बिक्रिका लागि कुखुरा, बंगुर तथा माछाको लागि छुटै स्थान बनाउने लगायतका काममा उक्त अनुदान खर्च गर्ने तयारी गरेको बताएको छ । 

   बजार व्यवस्थापन समिती बनिसकेपछि अव हटियाको लागि टेन्डर आव्हान नहुने भएको छ नगरपालिकाको  बजार व्यवस्थापन समितीले सोझै व्यपारीसँग कर उठाउने भएपछि व्यावसायीको लागि झनै सस्तो पर्ने छ भने बजार व्यवस्थापन झन्झटिलो नहुने भएको नगरपालिकाको ठम्याई छ ।