इटहरीः बचत तथा ऋणको कारोबार गरिरहेको सुनसरीको इटहरीमा संचालित किसान कल्याण साकोेसले किसान मैत्री कार्यक्रम ल्याउने योजनाका साथ सदस्यहरुलाई कृषि अवलोकन भ्रमण गराएको छ ।
संस्थाले एकै दिन ८० जना सदस्यलाई कृषि तथा पशुपालन फर्मको अध्ययन अवलोकन गराएको हो । बचत तथा ऋण कारोबारमा सक्रिय सहकारीले अव भने किसान मैत्री कार्यक्रम ल्याउने र किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने निती अघि सार्न लागेको बताएको हो ।
संस्थाले सदस्यलाई कृषि प्रणालीमा कसरी जोड्ने भन्ने हिसावले नमुना कृषि फर्महरुको अवलोकन गराएको संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् ।
एक अर्व भन्दा बढि बालसात रहेको कोशी प्रदेशकै एक सवल सहकारीको रुपमा चिनिएको किसान कल्याणले किसानलाई व्यावसायीक र आत्मनिर्भर बनाउन कृषि फर्म अवलोकमा लगिएको र त्यसबाट सिकेर केही व्यावहारिक ज्ञानलाई प्रयोगमा ल्याउन सहज हुने संस्थाको अपेक्षा छ ।
शनिवार ३९ जना सदस्यलाई झापाको गौरादह स्थित महारानी झोडामा रहेको नमुना कृषि खेती र महारानीझोडा साना किसान कृषि सहकारीले सन्चालन गरेको वीउ प्रसोधन केन्द्रका साथै साइलेस उत्पादन उद्योगको अवलोकन गराएको छ ।
अध्ययन अवलोकन भ्रमण पछि सदस्यहरुले कृषिमा चासो देखाउँदै असल मलवीउको चयन देखि लिएर लघु उद्योग र नमुना सामुहिक कृषि खेतीको अनुभव दिएको किसान कल्याणका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए ।
त्यसैगरी संस्थाले शनिवारै ४० जना सदस्यलाई सुनसरीबाट सप्तरीको माहुलीमा रहेको पशुपालन फर्मको समेत अवलोकन गराएको छ । संस्थाले निःशुल्क रुपमा आफ्ना सदस्यलाई अध्ययन अवलोकन भ्रमण गराएको बताईएको छ ।
अवलोकन भ्रमणबाट आफ्नो चालु अवस्थामा रहेको कृषि खेतीलाई थप सवलीकरण गर्न सहयोग पुग्ने सदस्य बराहाक्षेत्र ८ का देव नारायण झाँगड बताउँछन् ।
अव चाँडै किसानलाई लक्षित गर्दै उत्पादन मैत्री कार्यक्रम ल्याउने तर्फ संस्था अग्रसर हुने साकोसका अध्यक्ष ढकालको भनाई छ । उत्पादन बिना देशलाई सवल बनाउन नसकिने भएकाले पनि किसान मैत्री कार्यक्रमको खाँचो रहेको उनको बुझाई थियो ।