इटहरीः  पूर्व जनमुक्ति सेना नेपालको कोशी प्रदेश कमिटिले प्रद्यानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर हुनु षड्यन्त्र र जालझेल भएको निश्कर्ष निकालेको छ । 

 एक विज्ञप्ती जारी गर्दै कमिटिले एउटा इजालसबाट बदर भएको रिटलाई दर्ता गर्नु भरी दिइएको सर्वोच्चको आदेश प्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएको छ ।  

दश बर्षे जनयुद्ध, जनआन्दोलन तथा त्यसको जगमा स्थापित संघियता र धर्मनिरपेक्षता साथै लोकतान्त्रिक गणतन्त्र आधारभुत संरचना सहितको वर्तमान नेपालको संविधान र  अग्रगामी उपलव्धि विरुद्ध हुने गतिविधिलाई पूर्व जनमुक्ति सेना नेपालले घोर भत्सना समेत गरेको छ । 

कमिटिका अध्यक्ष राजकुमार राई र सचिव प्रदिप कुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुरुप व्यवस्थापन गरेर मात्र शान्ति प्रक्रिया पुरा हुने कुरा दिनको घाम जस्तै छर्लङ भएको बताइएको छ । 

संक्रमणकालिन न्याय सँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग माफैत शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानुनी एंव संस्थागत व्यावस्थाको लागि तत्काल पहल गर्न संगठनले नेपाल सरकारसंग माग गरेको छ ।  

प्रचण्डलाई तारेखमा अदालत आउनु भनि बोलाउनु देशमा शान्ति अमनचयन नचाहाने विदेशी प्रभुहरुको देशलाई पुन गृह युद्धमा धकेल्ने कुचेष्ठा भएको ठहर संगठनले गरेको जारी विज्ञप्तीमा उल्लेख  गरिएको छ  ।