प्रकाश बन्जारा 

इटहरीः कुनै बेला चर्किएको इटहरीको बाहिरी चक्रपथ निर्माण सम्बन्धि बहस पुनः एक पल्ट तातेको छ । 

उपमहानगरले संघीय सरकारका भौतिक योजना तथा निर्माण मन्त्री नारायणकाजी श्रेष्ठलाई बाहिरी चक्रपथ निर्माणको लागि बजेट उपलव्ध गराईदिन चिट्ठी पठाएपछि बहस पुनः सतहमा आएको हो । 

उपमहानगरमा अर्जुनकुमार दाहाल पुर्वाधार विज्ञ भएकै समयमा अघिल्लो स्थानीय सरकारले समेत संघीय सरकारमा इटहरीको बाहिरी चक्रपथ निर्माणको लागि अनुरोध गरेको थियो । त्यतिवेला संघीय सरकारबाट सम्भाव्यता अध्ययनका लागि एक जना विज्ञ समेत पठाइएकोमा स्थानीयबाट अवरोध भएपछि ती विज्ञ फिर्ता गएका थिए । 

योजनाको विस्तृत अध्ययन र योजना नै नभएको बाहिरी चक्रपथ निर्माण गर्नका लागि उपमहानगरले हाल दोस्रो पहल सुरु गरेको हो । 

बाहिरी चक्रपथ निर्माणको लागि उपमहानगरले सरसर्ती बन्द कोठा भित्रै बसेर उपमहानगरको नक्साको आधारका सम्भाव्य रेखाँकन गरेको तर विस्तृत अध्ययन भने नभएको उपमहानगरका भौतिक पुर्वाधार विज्ञ अर्जुनकुमार दाहाल बताउँछन् । 

बाहिरी चक्रपथले नगरक्षेत्रमा रहका सबै बाहिरी वडालाई सगेट्ने र बाँकी वडा चक्रपथको भित्री भुभागमा पर्नेगरीको सम्भाव्य खाका तयार गरेको छ । तर नगरसरकारसँग आफ्नै क्षमताले चक्रपथ निर्माण गर्न सक्ने सामर्थ नभएपछि सम्भाव्य नक्सांकन नक्सांकनमै सिमित छ । तर संघीय सरकारले चासो दिएर हेरेको खण्डमा भने बाहिरी चक्रपथ बन्न सक्ने इटहरी उपमहानगरपालिका योजना शाखाका इन्जिनियर जिवन घिमिरे बताउँछन् ।

बाहिरी चक्रपथलाई इटहरीको वडा नम्बर २,३,४,२०,१९, १८,१७,१६,१२,१३,१४ हुँदै ल्याउन सकिने प्रारम्भिक खाका उपमहानगरको छ भने चक्रपथले नभेट्ने जग्गा चक्रपथको भित्री भुभागमा पर्नेगरी निर्माण गर्ने योजना बनाइएको छ ।  

चक्रपथ निर्माणको लागि ट्याक्क खोल्नको लागि समस्या हुने  त्यसका लागि जग्गा प्राप्ति गर्नुपर्ने साथै त्यो प्रक्रिया पनि निकै लामो हुन्छ भएको विज्ञ अर्जुन दाहालको भनाई छ ।  

चक्रपथ निर्माण हुने भएपछि जग्गा धनीले स्वतह स्फुर्त रुपमा जग्गा उपलव्ध गराएको खण्डमा उनिहरुको जग्गाको मुल्याँकन पनि बढ्ने भएकोले त्यो सम्भव हुन सक्ने भौतिक पुर्वाधार विज्ञ दाहाल बताउँछन् । 

उपमहानगरले जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आयो भने त्यो सम्भावना उपमहानगरबाट सम्भव नहुने दाहालको भनाई छ । उपमहानगरको बजेट सानो भएकोले पनि अधिग्रहण निकै महंगो हुने भएको हुँदा जग्गा अधिग्रहणको काम सम्भव नहुने दाहाल बताउँछन् । 

उपमहानगरमा चक्रपथ बन्न सके नगरको छेउकुनामा उत्पादन हुने कृषिजन्य उत्पादन सहजै बजारमा आउने र फाइदा लिन सकिने छ । स्थानीय बासिको सामाजिक आर्थिक स्तर पनि वृदि हुने र इटहरीको ट्राफिक समस्यालाई पनि सहजै समाधान गर्ने विज्ञहरु बताउँछन् । 

बाहिरी चक्रपथ निर्माण कम्तीमा अरबको बजेट लाग्ने भएकाले पनि त्यो उपमहानगरको बजेट क्षमताले नभ्याउने बताइन्छ । 

संघीय सरकारमा एकपटक बहस भइसकेको विषय भएकाले पुनः घचघच्याउने हिसावले पत्र जादाँ केही न केही पहल हुन सक्ने अपेक्षा गरिएको छ । त्यसो त नगरप्रमुख हेमकर्ण पौडेलले इटहरीको बाहिरी चक्रपथसँगै कुखुरेझोडा जाने सेरा खोलाको पुल र कुखुरे झोडाबाट इटहरी ३ जोडन् बुढी खोलाको पुल समेत निर्माणका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई पत्रचार गरेका छन् ।