प्रकाश बन्जारा 

इटहरीः   रामधुनी नगरपालिकाले आर्थिक बर्षको आठौँ महिना जान लाग्दासम्म अनुमानित राजश्व आम्दानीको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । 

आर्थिक बर्ष शुरु भएको सात महिना  समाप्त भई आठौँ महिना समेत सकिने संघारमा रहेका बेला आन्तरिक आयमा आएको गिरावटले बजेट अनुमानमा कमी आउने लगभग पक्का भएको छ । 

नगरपालिकाले आन्तरिक आय अर्थात आन्तरिक राजश्व ५ करोड ५१ लख उठ्ने अनुमान गरेकोमा फागुन २५ गतेसम्म आउँदा २ करोड ७१ लख ८० हजार बराबर आन्तरिक आम्दानी गरेको छ । जुन अनुमानित आयको ४९ प्रतिशत मात्रै हो । कर तिर्न तथा फुर्सदिलो समयसम्म ४९ प्रतिशतमा खुम्चिएपछि यस पछिको आयले बजेटको अनुमान चुम्नेका शंका उव्जाएको बताइन्छ । बजेट अनुमानसँग मेल खाने गरी राजश्व उठ्ने हो भने यो समयसम्ममा ७० प्रतिशत राजश्व उठिसक्नु पर्ने हो तर व्यावसायमा आएको आर्थिक मन्दीले घटेको व्यावसाय कर , निराश जनताले विर्र्सिएको अन्य कर र घरजग्गा बिक्री तथा सिफारिस बाट आउने पर्ने करको आय घटेकै कारण पनि सोचेजति राजश्व उठ्न नसकेको विज्ञहरुको  विश्लेषण  छ । 

मुख्य राजश्वको हिस्सा ओगट्ने घर जग्गा कित्ताकाट खुलेर कारोबार शुरु हुने हो भने अनुमानित राजश्व उठाउन सकिने रामधुनी नगरपालिका लेखा अधिकृत विरेन्द्र सिग्देल बताउँछन् । 

नगरपालिकाले ४१ लाख ५५ हजार रुपैँया बराबर व्यावसाय कर उठाउने लक्ष्य राखेकोमा हालसम्म ३२ हजार रुपैँया मात्रै उठेको छ भने ८८ लाख ३८ हजार रुपैँया नक्सापास दस्तुर उठाउने लक्ष्य लिएको नगरपालिकाले नक्सापासबाट हालसम्म ९ लाख ९५ हजार रुपैँया मात्रै राजश्व उठाएको छ । 

त्यस्तै २९ लाख २० हजार बहाल विरौटी करको लक्ष्य लिएको रामधुनी सरकारले बहाल विरौटी करमा जम्मा जम्मी ४५ हजार २९० रुपैँया उठाएको छ भने लक्ष्य पुरा हुन २८ लाख ७४ हजार भन्दा बढी रकम बहाल विरौटी कर उठाउन बाँकी छ । नगरपालिकाले ८ महिनामा घर बहाल कर बाट १४ लाख ७७ हजार रुपैँया संकलन गरेको छ भने लक्ष्यमा पुग्न अझै १६ लाख २ हजार राजश्व उठ्नु पर्छ । 

रामधुनी स्थानीय सरकारले भुमिकर तथा मालपोत र अन्य करमा भने लक्ष्य भन्दा बढी राजश्व उठाइसकेको छ । अघिल्लो बर्षको बक्यौता सहित भुमिकर तथा मालपोतमा यस महिनासम्म ६८ लाख ९५ हजार राजश्व उठेको छ । फागुन महिनामा मात्रै ६७ लाख ६१ हजार ४१७ रुपैँया भुमिकर उठेको छ जुन रकम लक्ष्य भन्दा ६३ लाख ९५ हजार बढी हो । 

यता पुर्वाधार सेवमा उपयोगमा लाग्ने करबापत ४ लाख ४४ हजार रुपैँया उठेको छ । भने अन्य राजश्वमा ६ लाख ९ हजार रुपैँया उठेको छ । २ लाख ७९ हजार अन्य राजश्व उठ्ने अपेक्षा गरिएकोमा हालसम्म ३ लाख ३० हजार बढी अन्य राजश्व संकलन भइसकेको छ ।

 गत बर्षको यहि समयमा नगरपालिकाले ५२ प्रतिशत आन्तरिक राजश्व संकलन गरीसकेको थियो । प्रतिशतमा यस बर्षको राजश्व कम भएता पनि अंकले हिसावले भने आघिल्लो आर्थिक बर्षमा भन्दा झण्डै एक करोड रुपैँया बढी राजश्व उठिसकेको छ ।