इटहरीः इटहरी उपमहानगरपालिकाले मुख्य चौंकबाट धरान लाइनमा रहेका अनाधिकृत संरचनाहरु भत्काउने भएको छ । 

विराटनगरदेखि चीनको किमाथांकासम्म विस्तार भइरहेको छ लेन सडक विस्तार अन्तरगत इटहरी–धरान लाईनका केहि फुटपाथ क्लियर गर्न लागिएको हो  । 

इटहरीको मुख्य चोक देखि धरान लाईनमा फुटपाथ अतिक्रमण गरेर बनाएका ठुला–ठुला संरचनाहरु भत्काईने भएको छ भने फुटपाथ समेत क्लियर गरिने छ । 

उपमहानगरको शुक्रबार बसेको १२८ औ कार्यपालिका बैठकले फुटपाथ हटाउने निर्णय गरेको हो । छ लेन सडक विस्तार गर्न केहि भौतिक संरचनाले असर गरेको भन्दै आयोजनाले उपमहानगरलाई पत्राचार गरेको थियो  । 

धरान लाइनको फुटपाथ अतिक्रमण सँगै खेतीखोला र टेङ्रा खोला अतिक्रमण गरेर बनाएको भौतिक संरचनाहरु भत्काईने नगरपालिका स्रोतको भनाई छ । 

प्रदेश १ को मेरुदण्डको रुपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोशी राजमार्गको रानी विराटनगर–इटहरी–धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण सुस्त गतिमा छ । यस अघि नै उपमहानगरले सडक विस्तार आयोजनालाई पत्रचार गरेर सडक निर्माण द्रुत गतिमा बनाउन आग्रह गरेको थियो । इटहरी विराटनगर लाईनमा अदालती आदेशका कारण नभत्किएका घरहरु समेत मेयर हेम कर्ण पौडेलको सक्रियता पछि घरधनीहरु आफँेले भत्काएका छन् भने अहिले त्यहाँ सडक निर्माणको काम सुरु भइसकेको छ ।