इटहरीः इटहरी उपमहानगरपालिकाले उपमहानगरमा कार्यरत कर्मचारीले मासिक रुपमा पाउँदै आएको खाजा खर्च हटाउने प्रस्ताव अघि सारेको छ । 

उपमहानगरले कर्मचारीलाई प्रतिव्यक्ति ५ हजार रुपैँया खाजाभत्ता उपलव्ध गराउँदै आएकोमा अव त्यसको सट्टाामा १५ प्रतिशत सेवा सुविधा थप गर्ने प्रस्ताव ल्याएको छ । 

नगरपालिकाको फागुन २६ गते बसेको कार्यपालिका बैठकले कर्मचारीले पाउँदै आएको खाजा खर्च र पेट्रोल खर्चको सुविधालाई हेरफेर गर्दै सेवा सुविधा थप गर्ने कार्यदल नै गठन गरिएको छ । 

कार्यपालिकाको सुशासन तथा संस्थागत विकास समितिकी सदस्य भिमादेवी राई संयोजक रहेको कार्यदलमा तेजनारायण चौधरी, प्रभातकुमार आचार्य , दिवस पोखरेल र जितेन्द्र थापा सदस्य रहेका छन् ।  चैत्र १ गतेदेखी कर्मचारीलाई खाजा खर्च कटौती गर्ने १५ प्रतिशत सेवा सुविधा थप गर्ने निर्णय गरेको कार्यपालिकाले कार्यदलको सुझावको अपेक्षा गरेको छ । कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने र आगामी कार्यपालिकाका छलफलका लागि लैजाने तयारी भइरहेको नगरपालिका स्रोतको भनाई छ । 

उपमहानगरले प्रचलित कानुनको मान्यतालाई ध्यानमा राख्दै कर्मचारीको सेवा सुविधा थप गर्ने तयारी थालेको बताइएको छ ।

 उपमहानगरले पहुँचको आधारमा मासिक १० देखि १५ लिटरसम्म तेल सुविधा दिइरहेको थियो । सवारीको तेल सुविधा लिनको लागि कर्मचारीले सवारीको चालक अनमति पत्र र व्लु बुक अनिवार्य पेश गनुपर्ने भएता पनि कतिपय कर्मचारीले लाइसेन्स र व्लु बुक बाहेकै तेल सुविधा लिइरहेको लेखा शाखा  स्रोतले बताएको छ ।