सुनसरीः ठेक्का हात पार्ने तर समयमा कुनैपनि काम सम्पन्न नगर्ने विषयमा बदनाम कमाएको भूमि कन्ट्रक्सन (भूमि इन्फ्रास्टक्चर प्राली) सम्पर्कबिहीन हुँदा चर्चित इनरुवा–कौवाखोच सडकसहित धेरै आयोजनाहरु अलपत्र बन्न पुगेका छन ।

भूमिले हुलाकी राजमार्ग अन्तरगत दुई वटा ठेक्का पाएको छ । हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाका अनुसार भूमी इन्फ्रास्टक्चरले दुई वटा खण्ड अन्य ठेकेदार कम्पनीसँग मिलेर ठेक्का पारेको थियो ।

भूमिले हुलाकी राजमार्गको सुनसरी खण्डमा इनरुवादेखि कप्तानगन्जसम्मको २२ किलोमिटर र जामुनगाछीदेखि पश्चिम केसलिया खोलासम्म चार किलोमिटर सडक निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनी नै सम्पर्कबिहीन हुँदा अहिले दुबै आयोजनाका काम रोकिएर बसेका छन ।

इनरुवादेखि कप्तानगन्जसम्मको लिंक रोडको काम गौरी पार्वतीदेव एण्ड सायर÷भूमिले संयुक्त रूपमा पाएको थियो । सो सडकको सम्झौता अवधी २०८१ साउनमा सकिँदैछ । ५७ करोड ३१ लाख रुपैँयाको सो आयोजनाको काम पनि भएको छैन । दुवै आयोजना हेर्ने जिम्मा स्थानीय साझेदारको रूपममा भूमिले लिएको थियो ।

त्यस्तै जामुनगाछी खण्डको सडक निर्माणको ठेक्का देव एण्ड सायर÷भूमी जेभीले २०७८ जेठमा पाएको थियो । सम्झौता अवधी २०८० साउन १ गतेबााट सकिँदैछ । बाँकी रहेको समयमा काम सम्पन्न हुनसक्ने अवस्था छैन । सो सडकको ठेक्का सम्झौता रकम १८ करोड ८ लाख रुपैँया छ ।

यद्यपि भूमिका सञ्चालक सम्पर्कबिहिन भएपछि जामुनगाछीमा देव एण्ड सायर र इनरुवा–कप्तानगञ्ज खण्डमा गौरी पार्वतीले काम सुरु गर्ने गरी तयारी गरेको जनाएको छ ।

पटक पटक ताकेता गर्दा काम गरिरहेको ठेकेदार भूमी सम्पर्कमा नआएपछि कार्यालयले संयुक्त रूपमा ठेक्का लिएको अर्को कम्पनीलाई काम सुरु गर्न लगाएको हो ।

कोशी राजमार्गको ६ लेन सडक परियोजना खण्डमा पर्ने बूढीखोला पुलको ठेक्का सपना-देव एण्ड सायर-भूमि जेभीले पाएको थियो । ६ लेन सडक आयोजना प्रमुख दानकुमार शाक्यका अनुसार भूमिले काम नगर्दा पुलको काम रोकिएको थियो ।

कार्यालयले ताकेता गर्दा भूमि सम्पर्कमा नआएपछि अर्को साझेदार देव एण्ड सायरलाई काम सुरु गर्न लगाइएको उनले बताए ।

सो पुल २०७४ साल फागुन २३ गते ठेक्का लागेको थियो । २४ करोड लागतमा ठेक्का लागेको पुल निर्माणको अवधी दुई पटक थप भएको छ । पछिल्लो पटक थपिएको मिति २०८० असारमा सकिँदैछ । यो अवधीमा काम पुरा हुनसक्ने अवस्था भने छैन ।

पुल निर्माणको ठेक्का लिएका जेभी(ज्वाइट भेन्चर) मध्ये भूमिले स्थानीय साझेदारको रूपमा काम सुरु गरेको थियो । तर विराटनगर महानगरपालिका– ३ मा कार्यालय रहेको कम्पनीका सञ्चालक कृष्ण बोहोरा सम्पर्क बिहिन भएपछि काम अलपत्र परेको थियो ।

भूमि बोहराको एकल कम्पनी हो । ठेक्का लिएको काम अलपत्र पारेपछि काम गर्न सरकारी निकायले पटक पटक ताकेता गरेको थियो । भूमिको तर्फबाट जवाफ नआएपछि हुलाकी र ६ लने सडक आयोजनाले साझेदार कम्पनीलाई काम गर्न लगाएको हो ।

कोशी अस्पतालको अन्डरग्राण्डसहितको मेडिकल भवन निर्माणका लागि २०७८ असार २३ गते रमन÷भूमि इन्फ्रास्टक्चर÷भूमि कन्ट्रक्सनले संयुक्त रूपमा ठेक्का लिएको थियो । तीन साझेदार मध्ये भूमि इन्फ्रास्टक्चर प्रालिले काम सुरु गरेको थियो ।

३३ करोड २२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले २०८० पुस २२ गते काम सक्नुपर्ने सम्झौता छ । तर भूमि सम्पर्क बिहिन भएपछि जग उठाउने काम नै रोकिएको छ।

छु्ट्टा–छुट्टै नाममा दुई कम्पनीका सञ्चालक यसअघि साझेदार पनि हुन् । भूमि इन्फ्रास्टक्चरका सञ्चालक बोहरा आर्थिक विवादका कारण सम्पर्क बिहिन भएका थिए ।