खोटाङः प्रभु बैङ्कको दिक्तेल शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकसँग करोडौँ रुपियाँ सापटी लिएर फरार भएका छन् । प्रभु बैङ्कमा कारोबार गरिरहेका दर्जनौँ व्यक्तिसँग उक्त रकम सापटी लिएर एक महिनादेखि खतिवडा फरार रहेका हुन् ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङ घर भएका खतिवडा फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । खतिवडा सम्पर्कविहीन बनेपछि पैसा सापटी दिनेहरू अत्तालिएका छन् । 

माघ मसान्तसम्म बैङ्कको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एक करोड रुपियाँभन्दा बढी रकम लिएको बताइएको छ । एकै व्यक्तिबाट १६ लाख रुपियाँसम्म सापटी लिएको चर्चा छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताए । 

खतिवडाले विश्वकर्माबाट केही दिनमा फिर्ता गर्ने गरी छ लाख रुपियाँ सापटी लिएको बताइएको छ । उनले खातावालाकै नाममा चेक काट्न लगाएर बैङ्कबाट पैसा झिक्ने गरेको विश्वकर्माले बताए । 

खतिवडा सम्पर्कविहीन बनेपछि कोठा, घर र प्रभु बैङ्कको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्माले जानकारी दिए ।  यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।