इटहरीः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । महासंघको बिहिबार झापाको विर्तामोडमा भएको साधारण सभाले अध्यक्षमा राउत र उपाध्यक्षमा इटहरीका व्यावसायी भिम पौडेललाई चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका थिए । पौडेलले यसअघि अध्यक्षमा दावी गरेपनि उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मतिको वातावरण बनेको बताइएको छ । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भए ।
यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । अध्यक्षमा निर्वाचन भएका राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । भने उपाध्यक्ष पौडेल उद्योग वाणिज्य संघ इटहरीको निवर्तमान अध्यक्ष हुन ।