ओखलढुङ्गाः खिजीदेम्बा गाउँपालिका लिखु–४ जलविद्युत् आयोजनासँग प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न गाउँपालिकाले माग गरेको छ। सम्झौताअनुसार काम नगरेपछि खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रालिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्राचार गरेका छन । आयोजना सञ्चालन गर्नु पूर्व प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक विकासमा काम गर्ने सहमति गरेको लिखु–४ ले सम्झौताअनुसार कुनै काम नगरेपछि गाउँपालिकाले ध्यानाकर्षण गराएको अध्यक्ष शेर्पाले बताए । स्थानीय सरोकारवालाको माग सम्बोधन गर्दै आयोजनाले २०७७ साउन २६ गते स्थानीयस्तरमा विद्युत् विस्तारदेखि सडक कालोपत्रेसम्मका काम गर्ने सहमति गरेको थियो।
त्यसलगत्तै २०७७ भदौ १७ गते ग्रिन भेन्चर्सले गाउँपालिकालाई पत्र पठाएर प्रभावित क्षेत्रमा गर्ने कामबारे जानकारी गराएको थियो तर हालसम्म कुनै काम नगरेपछि पत्र लेखेर सहमति कार्यान्वयन गर्न सुझाएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
प्रभावित क्षेत्रमा तत्काल विद्युत् विस्तार गर्न, लिम्ती बिमिरे विद्युत् प्रसारण लाइन ११ केभीए विद्युत् उपलब्ध गराउने सहमति कार्यान्वयन नगर्नुको लिखित जवाफ १५ दिनभित्र पेस गर्न, पूर्व सहमतिअनुसार लेती खोला र एलुङ खोलामा स्वागतद्वार निर्माण गर्न, लिखु गाउँपालिकाको सिमानादेखि जिलीडाँडासम्म कालोपत्रेको काम तत्काल सम्पन्न गर्नेलगायत आयोजनाले पटक–पटक गरेका प्रतिबद्धता पूरा नहुनुको कारणसमेत लिखित रूपमा माग गरिएको अध्यक्ष शेर्पाको भनाइ छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि १६९ अनुसार आयोजना प्रभावित क्षेत्रका सरोकारवालालाई पूर्व सूचित सूचनाको अधिकार हुनुपर्नेमा स्थानीयलाई झुक्यानमा पारेर आयोजनाले लाभ लिने कार्य मात्रै गरेको भन्दै गाउँपालिकाले आयोजना सञ्चालन गर्ने कम्पनीलाई चेतावनी पूर्ण पत्र पठाएको छ।
लिखु–४ ले आयोजनाबाट विद्युत् उत्पादन गरेर लाभ लिन सुरु गरेपछि पनि प्रभावित क्षेत्रमा कुनै काम गरेको छैन। संस्थापक सेयर वितरण गर्दासमेत आयोजनाले खिजीदेम्बाका जम्मा दुई वडालाई मात्रै समेटेको थियो। लिखु–४ का विषयमा नागरिकस्तरबाट पटक–पटक व्यापक विरोध भए पनि गाउँपालिकाले पहिलो पटक स्थानीयको माग बमोजिम नेतृत्वदायी भूमिका खेलेको हो । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।