सर्लाहीः सर्लाहीको चन्द्रनगर गाउँपालिकाका २० कार्यालय बिगत ६ वर्षदेखि विद्युत् मिटर बिनै कार्य सम्पादन गरिरहेका छन् । बाँकी रहेको कार्यालयमा विद्युत् भए पनि बिजुली महसुल तिर्न सकेका छैनन् । । २० कार्यालयहरू मध्ये अधिकांश सरकारी विद्यालय रहेको र ती सबै विद्यालय तथा कार्यालयहरू ६ वर्ष देखि हुकिङ्ग गरी कार्यालय सञ्चालन गरिरहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा ई हाजिरी लगाउन खोज्दा यस्तो तथ्य बाहिरिएको हो । ई हाजिरी लगाउँदा विद्यालयका प्रधानाध्यपकहरुले बिद्युत् सुविधा विद्यालयमा नभएको कारण देखाई ई हाजिरी जोड्न आनाकानी गरेपछि गाउँपालिकाले सरकारी कार्यालयमा मिटर जडानको अवस्था सम्बन्धी सर्वे गर्दा अधिकांश विद्यालयमा विगत ६ वर्ष भन्दा बढी समयदेखि विद्युत् चुहावट गरी कार्यालय सञ्चालन गरिरहेको पाइएको छ ।

विद्युत् मिटर नभएको २० वटा सरकारी कार्यालयहरू मध्ये १७ विद्यालय र बाँकी ३ अन्य कार्यालय रहेको बताइएको छ ।
विद्यालयमा ई हाजिरी जडान गर्न जानु भन्दा अगाडी विद्यालयमा गरिएको अनुगमनको क्रममा गाउँपालिका भित्रका लगभग सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्युत् सञ्चालनमा रहेको, पखां चली रहेको, धरै जसो विद्यालयमा इन्टरनेट चलेको र कम्प्युटर सञ्चालनमा रहेको पाइएको थियो । तर ई हाजिरी जडान गर्न जाँदा विधुत सञ्चालनमा न रहेको कारण देखाई केही विद्यालयका प्रधानाध्यापकले इ हाजिरी जडान गर्न अटेर गरेका थिए ।

गाउँपालिका भित्रका १५ कार्यालयहरूले विद्युत् जडान गरे पनि बिल भुक्तानी गर्न नसकेको पाइएको छ। यसरी सरकारी कार्यालयबाटै विद्युत् चुहावट भइरहेको जानकारी गाउँपालिकाले पाएसँगै गाउँपालिकाले हुकिङ्ग गर्न बन्द गराएको छ । यतिबेला चन्द्रनगर गाउँपालिकाले विद्युत् चुहावट रहित पालिका बनाउने अभियान सञ्चालन गरिरहेको छ । गाउँपालिकाले २० कार्यालयहरूमा मिटर जडान गर्ने योजना बनाइ उक्त कार्य अगाडी बढाई सकेको जनाएको छ । गाउँपालिकाले किसानहरूलाई कृषि मिटरसमेत उपलब्ध गराइरहेका छ ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विद्युत् मिटर बिनै सञ्चालनमा रहेका विद्यालय तथा अन्य कार्यालयहरूमा छिटै मिटर जडान गर्न निर्देशन दिएको बताए । विद्युत् मिटर बिना कार्यालय सञ्चालन गरि रहेका विद्यालयका प्रधानाध्यापक र कार्यालय प्रमुखलाई विधुत मिटर आवेदन फारम गाउँपालिकाले उपलब्ध गराई सकेको छ ।

मिटर आवेदन फारम भरेर गाउँपालिकामा बुझाई सकेका विद्यालयहरूको मिटर जडान दस्तुर गाउँपालिकाले नेपाल विधुत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाएको छ । यसअघिका जनप्रतिनिधिहरूले सरकारी कार्यालयमै भइरहेको विद्युत् चुहावट रोक्ने कुनै प्रयास गरेको नदेखिए पनि आफूले यो समस्या छिट्टै समाधान गर्ने गाउँपालिका अध्यक्ष महतोले बताए । रासस