भोजपुरः सुन सफा गरिदिन्छु भन्दै सक्कली सुन आफूले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने ६ जना भारतीय भोजपुरमा पक्राउ परेका छन् ।
जिल्लाको पौवादुम्मा गाउँपालिकाबाट उनीहरू पक्राउ परेका हुन् । ती भारतीय नागरिकलाई पौवादुम्मा गाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सुन पगाल्ने केमिकलसहित ठगी गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पौवादुम्माको वडा नम्बर ४ बास्तिमकी २६ वर्षीया दिलमाया प्रधान, ३४ वर्षीया मेनुका प्रधान र ५६ वर्षीया बेनमाया प्रधानलाई उनीहरूले नक्कली सुन दिएर ठगेका थिए ।
उनीहरूले प्रधानत्रयलाई ठगेको सूचना पाएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्ने सबै भारतको मोतिहारीको घोडासहन–१४ स्थित सरस्वती चोक घर भएका व्यक्ति रहेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय लवकुश साह, २२ वर्षीय जितेन्द्र साह, १९ वर्षीय श्रवणकुमार साह, २२ वर्षीय रवीन्द्र साह, १८ वर्षीय रमेशकुमार र ३६ वर्षीय राकेशकुमार कुमार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेले बताए ।