इटहरीः उमेर ६७ वर्ष । तर, उत्साह भने कुनै जवानजस्तै छ भेडेटारमा सानो गुम्तीमा पसल गर्ने फूलमाया मगरको । २०५९ सालदेखि भेडेटारमा व्यापार गर्दै आएकी मगर शुरुमा भेडेटार चोकमै थिइन । घरहरू बन्न थालेपछि उनको गुम्ती सर्दै आयो । अहिले उनी भेडेटार बजारबाट नाम्जे जाने बाटोमा एक खाली जग्गा अगाडि सानो गुम्तीमा पसल गर्छिन् ।
ललिपप, धनकुटे बिस्कुट, चुरोट, खैनी, चकलेटआदि आवश्यक सामान बेच्छिन् मगर । यसरी सामान बेच्न उनी बिहानको ८ बजेदेखि अपराह्न ४ बजेसम्म खट्छिन् । भेडेटार घुम्न आउनेहरूले किन्ने धनकुटे बिस्कुटदेखि ललिपप सम्मका सामान मगरको पसलका आकर्षण हुन् । पसलका सामानसँगैको आकर्षण भनेको उनको मगर पहिरन पनि हो । मगर जातिका गहनासहित मगर पहिरनमा सजिने उनीसँग फोटो खिच्ने पनि मनग्गे हुन्छन् । भन्छिन्, ‘धेरैले मेरो फोटोहरू खिच्छ ।’
३ छोरा, २ छोरी र केही नातिनातिना अनि पनातिपनातिनीकी बज्यू फूलमाया मगर दिनमा १ हजार २ सय देखि २ हजार रुपैयाँसम्मको सामान बिक्री गर्छिन् । बिक्री गर्ने सामान किन्न भने युवायुवती भन्दा पाकाहरू बढ आउने उनी बताउँछिन् । भन्छिन्, ‘तरुनी तन्नेरीहरूले त किन्दैनन् । बुढापाका आउँछन् । तन्नेरीहरू त होटलमै बस्छन् ।’
आफूले ठाउँ पाएसम्म र सकेसम्म यस्तै पसल गर्ने फूलमाया बताउँछिन् । आफ्नो आम्दानी अरुलाइ दिने आवश्यकता नभएकाले आफैँ खर्च गर्ने मगर बताउँछिन् । उनी हाँस्दै भन्छिन्, ‘आफँै कमाउँछु । आफैँ धरानतिर झरेर मन लागेको कुरा किनेर खाएर सक्छु ।’