खोटाङः खोटाङको सदरमुकाम दिक्तेलमा कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबार शुरु भएको छ ।

जिल्लाका किसानलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि प्रदर्शनी हुँदै आएको समितिका संयोजक सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए ।

अर्गानिक कृषि उपज उत्पादन एवं बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको सो मेलामा संस्थागत रूपमा ३५ कक्ष राखिएका छन् । दिक्तेलको हेलिप्याडमा आयोजना गरिएको सो प्रदर्शनीमा जिल्लाका दशवटै स्थानीय तहका किसान सहभागी भएको बताइएको छ । उनीहरूले व्यक्तिगत रुपमा उत्पादन गरेका विभिन्न उपज प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएकामध्ये दिक्तेलस्थित सरस्वती माविको कक्षा–११ मा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले बनाएका नमूना एकीकृत घर बगैँचा सबैभन्दा आकर्षक देखिएको छ । उनीहरूले भूकम्प प्रतिरोधात्मक नमूना घरवरिपरी फलफूल बगैँचा, गोबर ग्यास प्लान्ट, माछा पोखरी, सुधारिएको गोठलगायत निर्माण गरेका छन् । कार्यक्रमको अन्तिम दिन आज तरकारीबाली, खाद्यान्नबाली, फलफूलबाली लगायतका ७ विधामा पहिलो, दोस्रो र तेस्रो हुने किसानलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट स्टललाई पनि नगद ५ हजार राशीको पुरस्कार व्यवस्था गरिएको बताइएको छ । प्रदर्शनीकै अवसरमा नगरपालिकाले नगरभित्रका एक उत्कृष्ट किसानलाई नगद २५ हजार राशीको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।

नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना, शुभम् फाउण्डेशन, बालसेवा समाज लगायतको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।