विराटनगरः २२ करोडको आर्थिक कारोबारसहित ‘विराट ट्रेड एक्स्पो, २०१८’ शनिबार सकिएको छ ।
विराटनगर महानगरपालिकाको शङ्करपुरमा पुस ६ गदेखि १४ गतेसम्ममा लागेको व्यापार मेलामा १ लाख २५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २ सय ४० वटा स्टलमा दैनिक उपभोग्य वस्तुदेखि मेशिनरी पार्टपूर्जा, सवारी साधन, मोबाइल, तयारी पोशाक, कृषिजन्य पदार्थ, हस्तकलाजस्ता सामान राखिएको थियो ।
प्रदेश नं १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उद्योग र व्यापार विकास राष्ट्रको समृद्धको आधार भएको बताए । उनले छिमेकी मुलुकका उद्योगी व्यापारीको यस मेलामा भएको सहभागिताले यहाँको उद्योग व्यापारमा थप उत्साह मिलेको बताए ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उद्योग स्थापनालाई उच्च प्राथमिकता राखेकाले यस क्षेत्रको व्यापार घाटा न्यूनीकरण गर्न उद्यमीको महत्वपूर्ण भूमिका हुने उनले बताए ।
पूर्वमन्त्री एवं सङ्घीय सांसद महेश बस्नेतले विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणामा आफूले सक्दो सहयोग गर्ने बताए । विराटनगरमा एउटा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र निर्माणमा सङ्घीय सरकारसँग पहल गर्ने बताए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा भएको समापन समारोह कार्यक्रममा सङ्घीय सांसद रमेशजङ्ग रायमाझी, सङ्घका महासचिव नवीन रिजाल, मेला समितिका संयोजक अनुपम राठीले मेलाले उद्योग र व्यापारमा ठूलो चहलपहल बढाएको बताए ।