वीरगञ्जः वीरगन्ज महानगरपालिकाले ३२ वटै वडाका लागि खरिद गरेको ट्रयाक्टरर ट्रेलरमा एक करोड २० लाख रुपैयाँ आर्थिक अनियमितता गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा भएको उक्त कारोबारमा आर्थिक अनियमितताका लागि महानगरले आपूर्तिकर्ता कम्पनी छनोटमै योजनाबद्ध चलखेल गरेको देखिन्छ । 

बजारमा दुई करोड ७२ लाखमा पाइने आइचर कम्पनीको ३२ ट्रयाक्टर(एक सिलिन्डर) र ट्रेलरलाई महानगरपालिकाले भने तीन करोड ९२ लाख भुक्तानी गरेको हो । वितरक कम्पनी स्रोतकै अनुसार उक्त ट्र्याक्टरको बजारमूल्य प्रतिथान सात लाख र ट्रेलरको डेढ लाख गरी कुल आठ लाख ५० हजार पर्छ । महानगरले भने प्रतिथान तीन लाख ७५ हजार बढी अर्थात् १२ लाख २५ हजारमा खरिद गरेको छ । महानगर स्रोतले पनि अनियमितता पुष्टि गरेको छ । 

इ–बिडिङमार्फत गरिएको ठेक्का बोलपत्रमा सुरुमा पाँच कम्पनीले आवेदन दिएकामा महानगरले प्राविधिक त्रुटि भएको भन्दै पुनः अर्को बोलपत्र आह्वान गरेको थियो, जसमा विना एग्रो इन्टरप्राइजेज प्रालिको मात्रै आवेदन परेको थियो । महानगरको यान्त्रिक तथा राजस्व शाखाका अनुसार पहिलोपटक २६ असोज ०७९ मा गरिएको इ–बिडिङमा खेसारी चन्द्र वर्णवाल, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, तुलस्यान ट्रयाक्टर्स, अर्थ अटोबिल्स प्रालि र ओमनी अटो मोबाइल्सले आवेदन दिएका थिए । तर, मूल्यांकन समितिले उनीहरूको आवेदन प्राविधिक रूपमा ठीक नभएको भन्दै खारेज गरिदियो । त्यसपछि १४ चैत ०७९ मा दोस्रोपटक बोलपत्र आह्वान भयो । यसपटक पहिलोपटकका एउटै पनि कम्पनीले आवेदन दिएनन् भने पहिलोपटक आवेदन नै नदिएको वीरगन्ज– १८ (हाल १५) बाइपास रोडमा रहेको विना एग्रो इन्टरप्राइजेज प्रालिले मात्रै आवेदन दियो । र, मूल्यांकन समितिले त्यसैलाई सदर गर्‍यो । 

उक्त मूल्यांकन समितिमा महानगरको लेखा शाखाका अधिकृत रामकुमार कुसवाहा, यान्त्रिक तथा राजस्व शाखाका प्रमुख मनोज कर्ण, योजना तथा पूर्वाधार शाखाका प्रमुख वरिष्ठ इन्जिनियर अवधेशप्रसाद कुसवाहा र इन्जिनियर प्रकाश अधिकारी थिए । इन्जिनियर अधिकारीले पहिलोपटक पाँच कम्पनीले दिएको निवेदनमा उल्लेख गरिएका ट्रयाक्टरर ट्रेलर प्राविधिक रूपमा गुणस्तरीय नभएपछि खारेज गरिएको बताए । 

समितिका इन्जिनियर प्रकाश अधिकारीले प्राविधिक रूपमा ठीक नभएपछि आवेदन खारेज गरिएको बताए । ‘आवेदन प्रक्रियामा मूल्यांकन समितिले सुरुमा प्राविधिक र त्यसपछि आर्थिक गरी दुई पाटोलाई हेर्छ । सुरुका पाँचवटै कम्पनीको निवेदन मूल्यांकन गर्दा उनीहरूले उपलब्ध गराउने भनिएका ट्रयाक्टरर ट्रेलर प्राविधिक रूपमा गुणस्तरीय देखिएनन् । महानगरले भनेको कोटेसनअनुसार आवेदन नपरेपछि बोलपत्र रद्द गरिएको हो,’ उनले भने । 

यान्त्रिक तथा राजस्व शाखा प्रमुख कर्ण र प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि समान जवाफ दिए । कर्णले सुरुमा महँगो ट्रयाक्टरर ट्रेलर वितरण गर्ने योजना बनाइएकोमा दोस्रोपटक कम गरिएको पनि दाबी गरे । ‘दोस्रोपटक एक मात्र कम्पनीले आवेदन दिएकाले सोही कम्पनीलाई छान्नुपर्ने अवस्था निम्तिएको हो,’ उनले भने, ‘खरिद प्रक्रियामा कुनै अनियमितता भएको छैन, सबै पारदर्शी नै गरिएको छ ।’ 

पहिलोपटकको बेलपत्रमा आवेदन दिएको तुलस्यान ट्रयाक्टर्सका सञ्चालक सन्दीप तुलस्यानले महानगरमा पदाधिकारीले योजनाबद्ध रूपमै गुणस्तरीयताको बहाना बनाएर आफ्नानिकटका व्यक्तिको कम्पनीलाई खरिद जिम्मा लगाउन पहिलो चरणको बोलपत्र रद्द गरेको आरोप लगाए । ‘मैले आफूलाई परेको मूल्यमा जम्मा २५ हजार नाफा राखेर ट्रयाक्टरर ट्रेलरको दररेट तोकेर आवेदन दिएको थिएँ, तर मूल्यांकन समितिले महानगरका पदाधिकारीको योजनाअनुसार निकटको कम्पनीलाई ठेक्का पार्न गुणस्तरीयताको विषय उठाई बोलपत्र नै रद्द गरिदियो,’ उनले भने, ‘योजनाबद्ध भएको बुझेपछि दोस्रोपटक आवेदन दिन उचित ठानिनँ ।’ 

ट्रयाक्टरर ट्रेलरका लागि ठेक्का पार्नेदेखि वितरणसम्ममा मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आजम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र यान्त्रिक शाखा प्रमुख मनोज कर्णको योजनाबद्ध मिलेमतो रहेको महानगर स्रोतले जनायो । यस अनियमितताबारे बुझ्न खोज्दा उपमेयर इम्तियाज सम्पर्कमा आउन चाहेनन् । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ ।