झापाः झापा अर्जुनधारा–५ का किसान सुवास राजवंशीले उखुबारीमै सख्खर उत्पादन शुरु गरेका छन् ।
जग्गा भाडामा लिएर उखु खेती शुरु गरेका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गरेका हुन् । ‘एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,’ राजवंशीले भने, ‘ऋण गरेरै भए पनि मेसिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।’
भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उनले बताए । अर्काको मेसिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गरेका राजवंशीले अहिले आफैँले मेसिन किनेका हुन् । उखु पेल्ने मेसिनबाट दैनिक २ सय ६५ लिटर रस निकाल्न सकिने उनले बताए ।
हाल उनले दैनिक सय केजी सख्खर उत्पादन गर्दै आएका छन् । किसानसँगै उद्यमी बन्दै गरेका राजवंशीले दैनिक ज्यालादारीमा ५ जनालाई रोजगारीसमेत दिएका छन् ।
राजवंशीलाई सहयोग गर्दै आउएकी उनकी श्रीमती उर्मिला राजवंशीले उखुबाट सख्खर बनाउन थालेसँगै केही आशा पलाएको बताइन् । तर आफूहरुले हिम्मत नहारेको बताउँदै उनले थप ऋण गरेर खेतीसँगै सख्खर बनाउन थालेको बताइन् ।
अर्जुनधारा नगरपालिकाका कृषि शाखा अधिकृत शालिकराम भट्टराईले अर्जुनधारा–५ व्यावसायिक उखु उत्पादन हुने पूर्वाञ्चलमै पहिलो र राम्रो ठाउँ भएको बताए । उनका अनुसार त्यहाँका १ सय ३५ किसानले ७२ हेक्टरमा उखु खेती गरिरहेका छन् । अर्जुनधारामा २ कट्ठादेखि ५ बिघा क्षेत्रफलमा उखु खेती भइरहेको छ ।
अर्जुनधाराको ५,६, ८ र ९ वडामा पनि किसानले आंशिक रुपमा उखु खेती गरिरहेका छन् । अर्जुनधारासँगै झापाको दमक, मेचीनगर, कमल गाउँपालिकामासमेत उखु खेती हुँदै आएको छ । जिल्लाभर १ सय १५ हेक्टरमा उखु खेती गरिँदै आएको अधिकृत भट्टराईले बताए ।