इलामः मेचीका चार जिल्लाको पर्यटकीय स्थल र सांस्कृतिक विषयको प्रवद्र्धन गर्ने उद्देश्यले पुस ५ गतेदेखि शुरु भएको मेची पर्यटकीय क्षेत्र महोत्सव सम्पन्न भएको छ ।
महोत्सवको समापन अवसरमा प्रदेश नं १ का उपसभामुख सरस्वती पोख्रेलले पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार गर्न सबै जुट्नुपर्ने बताइन् ।
मेची क्षेत्र पर्यटन प्रवद्र्धन समितिका महासचिव देवी पौडेलले आगामी ४ वर्षसम्म वर्षेनी मेचीका ४ जिल्लामा हुने यो महोत्सव आउँदो वर्ष ताप्लेजुङमा गर्नेसमेत निर्णय भएको जनाए ।
महोत्सवमा नेवार, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित पदयात्रा निकालिएको थियो । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सन्थाल नाच प्रस्तुत गरिएको थियो । इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट ल्याइएका चौंरीसमेत प्रदर्शन गरिएको थियो ।
व्यापार पक्ष कमजोर
पर्यटकीय महोत्सवमा व्यावसायिक पक्ष भने कमजोर देखिएको छ । अपेक्षाकृत पर्यटकको आवागमन नभएकाले महोत्सवमा राखिएका कक्षमा भने कारोबार कम भएको बताइएको छ ।