इलामः मेचीको ‘लाइफ लाइन’ मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माइखोला–गोलाखर्क भञ्ज्याङ खण्डमा मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ। तर, झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङ आऊ–जाऊ गर्ने मुख्य मार्गमै हिउँद र बर्खा सवारीका साधन सहज रूपमा गुड्न सक्दैनन्।

यो खण्डको करिब एक किलोमिटरभित्रमै मोटो रकम मर्मतका नाममा खर्च भइसकेको छ। तर, यो खण्डका दुई–तीन ठाउँमा राजमार्ग भासिने समस्याले सवारीका साधन गुड्न जटिल हुने गरेको हो। दुई दिनयता यो खण्ड फेरि बिग्रिएपछि सवारीका साधन अलपत्र परेका छन्।

हिलोमा चक्का भास्सिएपछि सवारीका साधन दिउँसो निकै कष्टले चलिरहेका छन् भने रातको समय यो खण्डबाट सवारी पास हुन असम्भव झैं भएको छ। यात्रुवाहक सवारीका साधन चलाउन समस्या छ भने मालवाहक सवारी साधन पास हुन निकै कष्ट छ।

करिब दशक यता यो खण्ड बर्सेनि बिग्रिने र मर्मत गर्ने काम भइरहेको छ। डिभिजन सडक कार्यालयले अहिलेसम्म यही खण्डको मर्मतका लागि मात्रै आठ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको अनुमान छ। तर, सडक सुध्रिनुको साटो झन्–झन् बिग्रिरहेको छ। पछिल्लो समय ग्राभेलका नाममा माटो मात्रै प्रयोग भएपछि एक–दुई पटक पानी आउँदै सडक हिलामय भएर सवारी बन्द हुने अवस्था आएको हो।

गत आर्थिक वर्ष यो खण्डसमेत पर्ने माइखोला–बिब्ल्याँटे सडक मर्मतका लागि डिभिजनले ७२ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। तर, यो खण्डमा चाहिँ यसअघिका वर्षहरूमा पनि सामान्य मर्मतदेखि ‘रक एन्करिङ’ सम्ममा मोटो रकम खर्च भएको छ। तर, सडक भास्सिएर हरेक बर्खा हिलो हुने गरेको छ भने हिउँदमा धुलोले गाडीको टायर डुब्ने गरेको सवारी चालकको गुनासो छ।

यो खण्डमा सवारी गुडाउँदा सडक बिग्रिएर दुर्घटनाको जोखिम पनि बढेको चालक साङ्गे तामाङले बताए। ‘यहाँ कहिल्यै मर्मत गर्न पनि छाड्दैनन्, सडक कहिल्यै राम्रो पनि हुँदैन,’ उनले भने, ‘अहिले फेरि यो ठाउँ असारको जस्तो हिलो भएको छ, पर्यटक बोकेका सवारी साधनसमेत छिचोलेर जान सकेका छैनन्।’

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष तथा युवा व्यवसायी कृष्ण पौडेलले यो खण्ड बिसौँ वर्षदेखि चुनावी एजेन्डा र जिल्लाका तालुकदार अड्डाको छलफलको विषय बन्ने गरे पनि सडकको हालत उस्तै रहेको बताए।

पौडेलले बरु मर्मत गर्ने स्रोत–साधन नभए ‘हामी गर्न सक्दैनौं’ भन्न सरोकारवाला कार्यालयलाई चुनौती समेत दिए। ‘यो बाटो उपलब्धिहीन कमाइखाने थलो नबनाइयोस्,’ उनले भने।

ग्राभेल हालेको ठाउँमा ट्रक फसेपछि राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालयका उद्धव अधिकारीले बताए। ‘गाडी फसेको थाहा पाएपछि हामीले फेरि ग्राभेल हालेर मर्मत गरिरहेका छौं,’ उनले भने, ‘अहिले गाडी सञ्चालन हुन सहज हुँदैछ।’

बर्खा लाग्ने बेला मेची राजमार्ग मर्मत गरिए पनि गत असारमा दुई महिना नपुग्दै भत्किन थालिसकेको थियो। असार अघि मात्र मर्मत गरिएको माइखोला–फिक्कलतर्फको खण्डका दर्जनौं ठाउँमा मेची राजमार्ग क्षत–विक्षत भइसकेको छ। मर्मतका नाममा फेरि माटो हाल्दा कालोपत्रे सडक झनै हेरि नसक्नु भएको छ।

माइखोला–बिब्ल्याँटे खण्डको कुलधारा–धोबीधाराबीचको भाग (पहिरो गएको) पनि कालोपत्रे गरेको केही महिनाभित्रै हिलामय भइसकेको छ। २०७८ सालमा पहिरोसँगै बगेको यहाँको करिब ३० मिटर सडक लामो समय लगाएर मर्मतसँगै भर्खरै कालोपत्रे गरिएको थियो। तर, कालोपत्रे गरेको ठाउँमा खाडल परेर गाडी चलाउनै समस्या छ।

राजमार्गको माइखोला–गोलाखर्क भञ्ज्याङ सडक वर्षौंदेखि बिग्रिए पनि यो रुटकै विकल्प खोज्नु आवश्यक भएको जिल्लाका सरोकारवाला बताउँछन्। तर, उपयुक्त विकल्प नहुँदा राजमार्ग जति मर्मत गरे पनि भास्सिनेक्रम रोकिन नछाडेको हो। नागरिक दैनिकबाट