विराटनगरः सर्वोच्चको परमादेशपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत परीक्षणअगाडि नै राजीनामा दिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सभाबाटै मुख्यमन्त्री कार्कीको राजीनामा घोषणालगत्तै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका छन् । 

प्रदेश प्रमुख खापुङले २६ असोजभित्रको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गरेका छन् । यस धाराअनुसार संसद्मा बहुमत हासिल गर्न सक्ने आधारसहित दाबी पेस गर्ने प्रदेश सभाको कोही पनि सदस्य मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत हासिल नगरे कोशी मध्यावधिमा जानेछ । त्यसैले मंसिरमा गठन भएको प्रदेश सभाबाट बन्ने यो अन्तिम सरकार हो ।

प्रदेशमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका एकजना सांसद छन् । जम्मा ९३ जना सांसद रहेको कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद चाहिन्छ । सरकार गठनका लागि चाहिने ४७ सांसद अहिलेको केन्द्रको सत्तागठबन्धनसँग छ । तर, उनीहरूले मुख्यमन्त्रीमा कसलाई अगाडि सार्छन् भन्ने तय भइसकेको छैन ।

नियुक्त हुने पाँचौँ मुख्यमन्त्रीले पुनः ३० दिनभित्र फेरि संसद्बाट बहुमत प्राप्त गर्न सके मात्र सरकार टिक्न सक्नेछ । तर, विश्वासको मत हासिल गर्ने–नगर्ने भन्ने प्रदेश सभाको परीक्षणमा मात्र तय हुनेछ । उपसभामुखले प्रदेश सभा चलाए गठबन्धनमै रहेका दलहरूसँग बहुमत पुग्छ । तर, पहिलाजस्तै उपसभामुख ‘बिरामी’ परिन् भने ज्येष्ठ सदस्यले सदन चलाउनुपर्छ । त्यसवेला गठबन्धनकै सांसदले सदन चलाउनुपरे बहुमत पुग्दैन । यदि ६ सदस्य रहेको राप्रपाले समर्थन गरे भने सहजै बहुमत पुग्नेछ ।

अब सरकार गठनका तीन विकल्प छन् । पहिलो अहिलेको गठबन्धनमा राप्रपा जोडिने । दोस्रो एमाले र कांग्रेस मिलेर सरकार बनाउने । तेस्रो–कांग्रेस र एमालेका दुई–दुईपटक मुख्यमन्त्री बाहिरिएकाले माओवादी नेतृत्वमा सरकार बनाउने र त्यसमा एमालेले बाहिरबाट समर्थन जनाउने ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले २० असोजमा विश्वासको मत लिने गरी १७ असोजमा कोशी प्रदेश सभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । प्रदेश सभाको शनिबारको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

एमाले पार्टीबाटै निर्वाचित उपसभामुखले सभाको अध्यक्षता गरेकाले मतदान गरेको भए उनले ३९ मत मात्र पाउने थिए । कार्की सर्वोच्चको परमादेशबाट २२ भदौमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । 

राजीनामा गर्नुपूर्व कार्कीले प्रदेश सभामा गरेको सम्बोधनमा कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको बताएका छन् । निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको उनको भनाइ छ । उनले आफू र आफनो पार्टी सधैँ सुशासनको पक्षमा रहेको र सर्वदलीय सरकार बनाउन सहयोगी बन्ने बताए । 

अबको मुख्यमन्त्री को ? 
नयाँ मुख्यमन्त्रीका लागि सबैजसो दलको दाबी देखिएको छ । दुईपटक मुख्यमन्त्री बनेर अदालतबाट पदमुक्त भएका कांग्रेसका उद्धव थापाले नयाँ सरकारमा आफ्नो दाबी कायमै रहने बताए । स्वाभाविक प्रक्रिया र गठबन्धनमा विवाद नभएकाले आफ्नो दाबी हुनु अस्वाभाविक नहुने बताए । तर, कांग्रेसभित्रै दुईपटक मुख्यमन्त्री बनेर पनि असफल भइसकेकाले पुनः थापालाई अगाडि सार्न नहुने र यसले सकारात्मक सन्देश नजाने मत उठेको छ । कांग्रेस सांसद केदार कार्कीले अबको पाँचौँ सरकार थापाको नेतृत्वमा नभई अरू कसैको अगुवाइमा गठन गर्नुपर्ने बताउँदै आएका छन् । 

यता विश्वासको मत नपाएर राजीनामा दिन बाध्य मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पार्टी एमाले पनि सबैभन्दा ठूलो दल भएकाले नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएको छ । प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले संघीयताको रक्षाका लागि आफ्नै पार्टीको नेतृत्वमा सर्वदलीय सरकार निर्माण गर्ने पहल गर्ने बताए । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले चाहिँ अब सबैको साझा हितका लागि आफ्नो पार्टीको नेतृत्वमा नयाँ तथा पाँचौँ सरकार गठन हुनुपर्ने अडान लिए । 

पाँचौँ सरकारबारे राप्रपाले अझै धारणा सार्वजनिक गरिसकेको छैन । तर, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशलाई मध्यावधिमा जाने नदिने आफूहरूको प्रयास हुने प्रतिक्रिया दिएका छन् । 

संविधानविद् विपिन अधिकारीले चाहिँ राजीनामा दिएका मुख्यमन्त्री कार्की र दुईपटक पदमुक्त भइसकेका कांग्रेसका उद्धव थापाले अब मुख्यमन्त्रीमा दाबी गर्न नमिल्ने बताएका छन् । ‘राजीनामा दिएका र पदमुक्त भएका दुवैले मुख्यमन्त्रीमा दाबी गर्नु संविधानविपरीत हो,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।