आतंकवादी हमलाबाट उम्किन धेरै प्रयास गर्नै पर्‍यो। बंकरमा भोकै बस्नुभन्दा ज्यान कसरी बचाउनु भन्ने पीडाले शनिबारबाटै सतायो। हामी बंकरमा बसेका विद्यार्थीलाई इजरायली सेनाले सोमबार सुरक्षित स्थानमा सारेको छ। सेना लिन आएपछि हामीले खुसीको श्वास फेरेका छौं। 

हामीलाई सुरक्षित स्थानमा लैजानका लागि सेनाको टोली आउनुभएको थियो। हामी तेल अबिबको सुरक्षित स्थानमा आयौं। अब बाँचिन्छ कि भन्ने आस पलाएको छ। अहिले तत्कालका लागि हामीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ। हामी यो अवस्था आउँछ कि आउँदैन भन्नेमा थियौं। तर, भाग्यले बाँचेका छौं।

अब भनेको हाम्रो माग नै नेपाल सरकारले हामीलाई नेपाल लग्दिने व्यवस्था मिलाइदिओस् भन्ने हो। किनभने अब यहाँ अरू देशले पनि आक्रमण गर्दैछन् भन्ने सुनेका छौं। त्यसैले पनि मन आत्तिएको छ एकदमै। नेपाल सरकारले केही गर्ने नै छ भन्ने आशा छ। सबै राम्रै हुनेछ। हामी नेपालमै भेट्नेछौं। यहाँ धेरै नेपालीहरू हुनुहुन्छ भन्ने सुनेको छु। आशा छ धेरै सुरक्षित नै हुनुहुन्छ होला। 

त्यता नेपालमा पनि हाम्रा परिवार आतिनु भएको छ भन्ने लागेको छ। राम्ररी कुरा हुन पनि पाउँदैन। कुरा हुन पाएको र भिडियो बनाउन पाएको बेला म सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै जानेछु। अहिलेलाई यति खुसीको कुरा सुनाउन पाएँ। हाम्रा केही साथीले ज्यान गुमाउनुभए छ यसमा भने धेरै दुःखी छु । अब हामी सहज तरिकाले खान बस्न सकिने स्थानमा पुगेका छौं। हामीलाई नेपाली राजदूतावासको पहलमा इजरायली सेनाले सुरक्षित गरेको हो। अब नेपाल सरकार पनि लिन आउला। भगवान्को भरोसामा अब बाँचिएला कि।

इजरायली सेनाले स्कर्टिङ गरेर दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेको भन्ने मैले सुनेको छु। अन्य १३ जनालाई बेतकाम क्षेत्रमा राखिएको छ भन्ने पनि जानकारी छ। जो जहाँ भए पनि सुरक्षित रहनुहोला भन्ने कामना गर्दछु। अनि नेपाल सरकारले पनि हामी नेपालीलाई सुरक्षित राख्ने र चाँडै उद्धार गर्नमा प्रयास गरोस्। अहिले बाँच्नु नै ठूलो कुरा हो।

(लुइस रिजाल इजरायलमा रहेका विद्यार्थी हुन्।) यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।