इलामः इलाममा भएको आजको नागरिक अभिनन्दनसँगै लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटकीय मन्तव्य दिएका छन् । ३ बजेर ३५ मिनेट जाँदा आफ्नो मन्तव्य थालेका प्रधानमन्त्री ओलेली भने, ‘इलामका आकर्षक पर्यटकीय क्षेत्रहरूको प्रचार हुनुपर्छ ।’

प्रदेश नम्बर १ मा जल, जमिन र जङ्गल धेरै भएकाले लगानीका लागि प्रशस्त सम्भावना भएको क्षेत्र रहेको बताए । ‘सप्तकोशी, सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा भएको क्षेत्र हो प्रदेश नम्बर १’, उनले भने, ‘हिमालको उचाइदेखि केचनाको गहिराइसम्म बोकेको छ यो प्रदेशले । तराईमा गर्मी हुँदा पहाड उक्ले हुन्छ । यस्ता धेरै ठाउँ छन् प्रदेश नम्बर १ मा ।’

द्वापर युगका भन्दा पनि पुराना ऐतिहासिक महत्व बोकेका ठाउँ १ नम्बर प्रदेशमा भएको उनले बताए । विराट राजाको दरबारदेखि अर्जुनले धनुष हानेको अर्जुनधारा प्रदेश नम्बर १ मा भएकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्न सकिने उनको भनाइ थियो ।

इलामका उत्पादन भारतीय राज्यहरुमा बेच्न भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको उनले बताए । अदुवा र अम्लिसोको विषयमा बङ्गलादेशसँग कुरा गरेको ओलीको भनाइ थियो ।

‘तपाईंहरू भोल्युम (ठूलो परिणाम)मा उत्पादन गर्नुस् ताकि धेरै परसम्म बेच्न सकियोस्’, सम्बोधनका क्रममा ओलीले भने, ‘प्रदेश १ लालीगुराँसको राजधानी हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस फूल मात्रै नभएर औषधी पनि हो । लालीगुराँसको अवलोकन गराएर र फूल बेचेर तथा अन्य विभिन्न तरिकाले उपयोग गरेर पनि आम्दानी गर्न र लगानीको क्षेत्र बढाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले पर्यटक तान्न इलाममा ५ तारे होटल खोल्न पनि लगानीकर्तालाई आह्वान गरे ।

oli sambodhan  (1)