इटहरीः ‘दैनिक हजार–पन्ध्र सयको व्यापार गर्न पनि मुस्किल छ,’ यो पल्ट त घर भाडा तिर्न पनि नपुग्ला जस्तो भएको छ ।’ यो गुुुुुुनासो हो इटहरीको सङ्गीत चोकमा पसल गर्ने इन्द्र लिम्बूको । लिम्बूको मात्रै नभएर अहिले सङ्गीतचोक आसपासका आधिकांश व्यवसायीको यो साझा गुनासो हो । पसलमा आउने अधिकांशलाई बाटो बन्द भएको कारण व्यापार नभएको गुनासो पोख्ने गरेका छन् उनीहरूले ।

नगरपालिका छेउबाट सङ्गीत चोक कोशी राजमार्ग (धरान रोड) सम्म जोड्ने बाटो निर्माणको काम ९ दिनसम्म पनि अघि बढेको छैन । ढाट लगाएर बाटो बन्द गरेर सामान्य काम मात्र भएकाले व्यापार घटेको व्यवसायीहरूले जनाएका छन् । इटहरी उपमहानगरपालिकाको ९ लाख र उपभोक्ता समितिको ५ लाख गरी जम्मा १४ लाखको लगानीमा बाटो निर्माण हुन लागेको हो ।
व्यवसायी भीम पौडेलले उपभोक्ता समिति मार्फत् निर्माण ठेक्का पाए पनि काम गर्न ढिलाइ गरेपछि अहिले सङ्गीत चोक आसपासका व्यापारी मात्र होइन सर्वसाधारणलाई पनि हिँड्न सास्ती भएको छ ।

‘आज ९ दिन भैसक्यो बाटो बन्द गरेर छोडेको । तर अझैसम्म पनि बनाउने छाँट देखिएको छैन । बाटो ब्लक गरेर कति दिनसम्ममा सडक बनाइसक्ने भनेर जानकारी पनि दिएको छैन’, मालिङ्गो फेसन स्टोरकी इन्द्र लिम्बू भन्छिन्, ‘अब अझै ८–१० दिन राख्छन्जस्तो छ । यही पारा हो भने भाडा तिर्न पनि सकिँदैन ।’

अरु समयको तुलनामा १० प्रतिशत पनि व्यापार हुन मुस्किल भएपछि सङ्गीत चोक आसपासका अधिकांश व्यवसायी पसल मात्र रुँघेर घर फर्किने गरेका छन् ।

‘अरुबेला १५ हजारभन्दा माथिको व्यापार हुन्थ्यो’, सङ्गीत चोक छेउमै रहेको कलावती मेडिकलका सञ्चालक कृष्ण साह भन्छन्, ‘अरु बेला निकै मान्छे आउने गरेका थिए । अहिले बाटोमा नाकाबन्दी गरिदिएकाले मान्छे आउन पाउँदैनन् । चिनेर यहीँ आउनुपर्छ भन्ने ग्राहकहरू मात्र आउने गरेका छन् । अरु बेलाको तुलनामा १० प्रतिशत पनि व्यापार छैन ।’

इटहरीका धेरै होलसेल पसल सङ्गीत चोक आसपासमा छन् । सामान्य समयमा दैनिक ५० लाखसम्म कारोबार हुने सो क्षेत्रमा बाटो बन्द भएकै कारण अहिले ४–५ लाख को व्यापार हुन पनि मुस्किल भएको व्यापारीहरू बताउँछन् ।

धेरै दिनसम्म बाटो नै बन्द गरे पनि काम भने सुस्त भएको आरोप स्थानीय सर्वसाधारणले पनि लगाएका छन् । ‘एक दिन, दुई दिन होइन, २ हप्ता हुन लागिसक्यो । अझैसम्म पनि काम गर्ने छाँटकाँट देखिएको छैन’, स्थानीय रामकुमार श्रेष्ठले भने, ‘नाकाबन्दी गरेर विकास चैँ हाम्रो ठाउँमा मात्र हँुदो रहेछ ।’

उपभोक्ता समितिको गुनासोः दिएको काम पौडेलले छिटो गरेनन्
उपभोक्ता समितिमार्फत् काम गराइएको सो बाटोमा उपमहानगरपालिकाले ९ लाख लगानी गरेको छ । नियमानुसार उपभोक्ता समितिलाई जिम्मा दिएको काम उपभोक्ता समितिले आफैँ वा आफ्नो सुपरीवेक्षणमा गर्नुपर्ने भएता पनि अहिले निर्माण व्यवसायी भीम पौडेलको निर्माण कम्पनीसँग भर पर्दा काम ढिलो भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष सागर सुवेदीका अनुसार ठेकेदारलाई कामको ठेक्का दिए पनि आवश्यक सामान टाढा भएकाले काम गर्न ढिलो भएको बताए ।

‘धेरैतिर उहाँ (ठेकेदार भीम पौडेल) काम गर्नु हुँदो रहेछ । त्यसैले सामान ओसारपसार गर्दा निर्माण गर्न टाइम लागेको हो अब छिटै नि काम शुरु हुन्छ ।’

काम छिटो गर्न ठेकेदारलाई भनिसकिएको छः उद्योग वाणिज्य सङ्घ
उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट व्यापारीहरूबाट व्यापक गुनासा आएकाले काम छिटो गर्न ठेकेदारलाई अनुरोध गरेको बताउँछन् । ‘सङ्घमा धेरै व्यापारीको उजुरी आइसकेको छ’, बिष्टले भने, ‘व्यापारीलाई व्यापार गर्न र सर्वसाधारणले हिँड्न पाएका छैनन् अनि काम पनि भएको छैन । ठेकेदारले यो कुरा बुझिदिनुपर्याे भनेर मैले उद्योग वाणिज्य सङ्घको तर्फबाट ठेकेदारलाई पनि भनिसकेको छु ।’

sangit chok sadak (1) sangit chok sadak (2)