विराटनगरः कोशी प्रदेशको मुुख्यमन्त्रीमा कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका आठ गरी ४७ प्रदेश सभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । तर, सत्तागठबन्धनले पनि उनलाई स्वीकार गर्ने र विश्वासको मत दिने निर्णय लिएपछि कोशीको राजनीतिमा नयाँ दाउपेच सुरु भएको छ ।
आफ्नो समूहका नेतालाई मुख्यमन्त्री बनाउन एमालेका प्रदेश सभा सांसदहरूको समर्थन लिएका कांग्रेस नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग गठबन्धन कायमै राख्ने सहमति गरेर दुवै पक्षलाई ‘इंगेज’ राखेका छन् । त्यसैले प्रश्न कायमै छ– कोशीको मुख्यमन्त्री कार्की डा। कोइराला–एमाले पक्षका वा गठबन्धन कसका हुन् ?
एमाले नेताहरूले पुरानो गठबन्धन भत्किएर कोशीमा नयाँ समीकरण बनेको र त्यहीअनुसार मन्त्रिपरिषद् गठन हुने बताएका छन् भने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूले डा। कोइरालासँगको सहमतिले गठबन्धनलाई कायमै राखेको दाबी गरेका छन् । कार्कीलाई विश्वासको मत दिने निर्णय लिए पनि मन्त्रिपरिषद्मा सहभागी हुनेबारे गठबन्धनले केही निर्णय गरेको छैन ।
शुक्रबार रातिसम्म कार्कीको उम्मेदवारी फिर्ताको प्रयास असफल भएपछि गठबन्धनका नेताहरूबीच कार्कीलाई गठबन्धनको मुख्यमन्त्रीमा स्विकार्ने र केन्द्रमा रहेको गठबन्धन कायम गर्ने सहमति बनेको हो । सत्तागठबन्धनमा गठबन्धन जोगाउन कोशीमा कार्कीलाई मुख्यमन्त्री स्विकार्ने रणनीति लिए पनि एमालेको समर्थनमा बनेको सरकारलाई कसरी समर्थन गर्ने भन्ने अन्योल कायमै छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा कोइरालाबीच कोशीका कारण सत्तागठबन्धन टुट्न नदिने र थप बलियो बनाएर जाने सहमति भएको थियो । ‘हामी वर्तमान सत्तागठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ,’ प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता कोइरालाले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ ।
मुख्यमन्त्रीमा नियुक्तिपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वको सरकार हुने प्रतिक्रिया दिएका छन् । चितवनको भरतपुर विमानथस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै देउवा र नेता कोइरालासँग लिखित सहमति भइसकेकाले कार्कीलाई केन्द्रको गठबन्धनले पनि विश्वासको मत दिने बताए ।
उनले कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने, तर सर्वपक्षीय सरकारको सम्भावना नभएको बताएका थिए । ‘वास्तवमा एउटा समस्या थियो, तर त्यसलाई सेटलमेन्टमा लगिएको छ । यसले अन्ततः गठबन्धन बलियो हुने ठाउँतिर नै अगाडि बढ्छ । म, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच गठबन्धन अझै दृढ बनाउन स्पष्ट छौँ र कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउने नदिने समझदारी बनाएका छौँ । अब कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ, उहाँ हामी सबैको मुख्यमन्त्री हुनुभएको छ । समस्याको सेफ ल्यान्डिङ गरिएको छ । कोशीमा कार्कीलाई विश्वासको मत दिन्छौँ, गठबन्धनलाई झनै बलियो बनाएर जान्छौँ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
कांग्रेस संस्थापनले तत्काल गठबन्धन जोगाउन शंकासहित कार्कीलाई मुख्यमन्त्री स्विकार्ने सहमति बनेको जिकिर गरेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तिम अवस्थामा पार्टीको असन्तुष्टि व्यवस्थापन गरेर गठबन्धन जोगाउने गरी सहमति बनेको बताए । उनले सरकारमा सहभागिता र समर्थनलगायत विषयमा घटनाक्रमका आधारमा निर्णय लिइने बताए ।
‘तत्कालका लागि गठबन्धनमा उत्पन्न परिस्थिति र पार्टीको टुटफुटलाई जोगाउने गरी डा शेखर कोइराला सहमत हुनुभएको हो । हामीले गठबन्धनको मुख्यमन्त्रीका रूपमा स्वीकार गरेका छौँ । मुख्यमन्त्री नियुक्तिमा हामीले कुनै बाधा अवरोध गरेनौँ,’ विश्वकर्माले भने, ‘एमालेले समर्थन गरेकाले उहाँहरूबीच छलफल होला । त्यसपछिका घटनाक्रमका आधारमा सरकारमा सहभागि हुने–नहुने लगायत विषय टुंगो लाग्छन् । दुवैले विश्वास पनि गरेको अवस्था छ, दुवैले शंका पनि गरेको अवस्था छ । यसपछिका पर्ख र हेरकै रणनीतिमा छौँ ।’
अर्कोतर्फ एमालेले आफ्नो समर्थनमा कांग्रेस नेृतत्वमा सरकार बनेसँगै पुरानो गठबन्धन तोडिएको दाबी गरेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धन टुटिसकेकाले एमाले र कांग्रेसबाट विद्रोह गरेकालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे । ‘उहाँहरूले गठबन्धन जोगायौँ भनेर भन्दैमा हुँदैन, गठबन्धन टुटिसक्यो । एमालेको समर्थनमा बनेको सरकार हो, एमाले सरकारमा सहभागी नहुने भन्ने हुँदैन, आइतबार शपथपछि सानो आकारको मन्त्रिपरिषद् बन्छ । एमाले र कांग्रेसबाट समर्थन गरेका साथीहरूमध्येबाट मन्त्री बन्नुहुन्छ । को–को सहभागी हुने भन्ने छलफलकै क्रममा छ,’ गुरुङले भने ।
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ठोस निष्कर्षमा नपुगेको र पार्टीमा पर्याप्त छलफलबाट टुंगो लाग्ने बताए । ‘केन्द्रमा गठबन्धन जोगाउने तीन नेताबीच सहमति भएको छ । मुख्यमन्त्री पनि नियुक्त भइसक्नुभएको छ । तर, त्यसपछिको परिस्थितिको विश्लेषण हुन बाँकी छ । सरकारमा सहभागी हुने–नहुने या के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ,’ उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले पार्टीमा छलफल हुन बाँकी रहेको बताए । ‘हामी छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने । मुख्यमन्त्री नियुक्त भएलगत्तै शनिबार नै कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेश सभा सदस्यले प्रदेश प्रमुखको कार्यालयमा गएर हस्ताक्षर सनाखत गरेका थिए । काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले डा कोइरालासँग सहमति गरेपछि सनाखतमा गठबन्धनका इन्द्रबहादुर आङ्बो पक्षका सांसदहरू उपस्थित भएनन् ।
प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि कोशी प्रदेश सभा सदस्य कार्कीले र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७–४७ सांसदको हस्ताक्षर बुझाएका थिए । त्यसमा आठजना कांग्रेस सांसदको दुवैतिर हस्ताक्षर थियो । सोही कारण प्रमुख खापुङले प्रमाण खुल्ने प्रमाणपत्रसहित सशरीर कार्यालयमा उपस्थित भई सनाखत गराउने निर्णय लिएका थिए । यस्तो सनाखतमा कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शमशेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका थिए ।
कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत नपाए प्रदेशमा मध्यावधिमा जाने एक मात्र विकल्प रहनेछ ।
आज शपथ, एमाले र कांग्रेसको कोइराला समूहबाट मन्त्री नियुक्तिको तयारी, दसैँअघि विश्वासको मत
नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् । लगत्तै मन्त्रिपरिषद् गठन गर्ने उनको तयारी छ । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै काठमाडौं आएका कार्की मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा पार्टी नेताहरूसँग परामर्शमा जुटेका छन् ।
कार्कीलाई समर्थन गर्नेमध्येका कांग्रेस सांसद शमशेर राईका अनुसार आइतबार एमाले र कांग्रेसबाट एक–एकजना विनाविभागीय मन्त्री बनाउने तयारी छ । मुख्यमन्त्री कार्कीले दसैँअघि नै विश्वासको मत लिने मनसाय राखेको सांसद राईले बताए ।
‘मुख्यमन्त्री काठमाडौंमा नेताहरूसँग छलफल गरिरहनुभएको छ । केन्द्रमा सहमतिका आधारमा बाँकी विषय टुंगो लाग्ला । तर, आइतबार शपथपछि एमाले र कांग्रेसबाट एक–एकजना विनाविभागीय मन्त्री बनाउने तयारी छ,’ उनले भने, ‘दसैँअघि नै विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।’
काठमाडौंमा सहमति, विराटनगरमा सनाखत
शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा कोइरालाबीच कोशीका कारण सत्तागठबन्धन टुट्न नदिने र थप बलियो बनाएर जाने सहमति भएको थियो ।
‘हामी वर्तमान सत्तागठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ,’ प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता कोइरालाले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले डा कोइरालासँग सहमति गरेपछि सनाखतमा गठबन्धनका इन्द्रबहादुर आङ्बो पक्षका सांसदहरू उपस्थित भएनन् ।
शेखर समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले प्रदेश प्रमुखको कार्यालयमा गएर सनाखत गरे । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५)बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरे । कोशीको सरकारको स्वामित्वलाई लिएर दुई पक्षबीच आ–आफ्नो दाउपेच सुरु भएको छ । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ ।