इटहरीः आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय, इटहरीको आयोजनामा शाखा व्यवस्थापनसम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

सो तालिममा आरएमडीसीका २८ वटा साझेदार संस्थाका ३६ जना शाखा प्रबन्धकले भाग लिएका थिए । तालिमको उद्घाटन सत्रको क्रममा तालिमका संयोजक इटहरी शाखाप्रमुख गोविन्दप्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पारेका थिए ।

उनले स्वच्छ लघुवित्त कार्यक्रमलाई सफल बनाउन ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै लघुवित्तको मर्मअनुसार लघुवित्त कार्यक्रम अगाडि लैजानु नै लघुवित्तको कार्यान्वयनको महत्वपूर्ण एकाइ रहेकाले शाखा व्यवस्थापकको महत्वपूर्ण भूमिका हुने बताए । तालीमले शाखाको प्रभावकारी व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

तालीममा जीवन विकास समाजका सञ्जयकुमार मण्डल, संस्थाका आन्तरिक लेखापरीक्षक रोहित भण्डारी र संस्थाका तालीम शाखा प्रमुख सुदीपकुमार मण्डलले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले शाखा व्यवस्थापनको अवधारणा, व्यवस्थापकको काम, कर्तव्य, भूमिका तथा दायित्वबारे चर्चा गरेका थिए ।

त्यस्तै, लघुवित्तको सिद्धान्त, महत्व, भाका नाघेको ऋण असुलीका विभिन्न उपाय तथा हालको अवस्थाको बारेमा प्रष्ट पारेका थिए । लघुवित्त संस्थालाई आत्मनिर्भरता र दिगोपन बनाइराख्न अवश्यक पर्ने विभिन्न सूचकहरूको बारेमा छलफल गरिएको थियो ।

सो तालीममा लघुवित्त सञ्चालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यको अनुगमन तथा सुपरीवेक्षण, ग्राहक सदस्यको व्यवस्थापन, सुरक्षण तथा विकास लगायत कर्जा व्यवस्थापन, विश्लेषण र सदुपयोगिताबारे विश्लेषण गरिएको थियो ।