हिलेः  धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का चुइन्द्र बस्नेत र उनकी श्रीमती टिका बस्नेत हिजोआज घर नजिकै बनाएको टनेल भित्रै रमाउने गर्छन । टनेलमा लगाएको च्याउको स्याहारसुसार नै उनीहरूको दैनिकी बनेको छ । 

यती बेला बस्नेत दम्पतीलाई च्याउ खेती गर्न भ्याई नभ्याई छ । बिहान सबेरै च्याउ टिप्छन । अनि त्यो च्याउ बजार बजारमा पुर्याउछन । वाकी रहेको समय त्यही च्याउ स्याहार्दै बित्ने गरेको छ । च्याउ खेती रोजेपछि आम्दानीको गतिलो स्रोत बनेको छ ।

४ वर्ष अघि विष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका उनले ६ वटा टनेलबाट दैनिक दुई सय देखि ३ सय केजी च्याउ उत्पादन गर्दै आएका छन  । आफ्नो दैनिकी च्याउमै बित्ने गरेको उनको भनाई छ । “दैनिक तिन सय किलो सम्म उत्पादन हुन्छ टिपेर बिक्री गर्दा दिन बित्छ आम्दानी पनि राम्रै छ विदेशमा गरिने दुख यही गर्दा यहाँ पनि रामै हुन्छ भन्ने अनुभव भयो” बस्नेत भन्छन ।

    युवाहरू रोजगारको खोजीमा विभिन्न देश पुग्ने गरेका छन् तर, बस्नेत दम्पतीले गरेको लोभ लाग्दो च्याउ खेती एक उदाहरण बनेका छन  । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुगे । दुख धेरै तथा राम्रो कमाई नभएपछि गाउँमै फर्किए ।

गाउँ फर्किएर ३० लाख रुपैयाँको लगानी च्याउ खेती सुरु गरेका उनले यती बेला राम्रो आम्दानी गर्दै आएका छन। बजारमा २ सय ५० रुपैयाँले बिक्री हुँदै आएको च्याउ बिक्रीबाट एक सिजनमा १० लाखसम्म आम्दानी हुँदै आएको उनीहरूको भनाई छ । उनीहरूले केही ब्याक्तिलाई रोजगार समेत दिएका छन ।

 विदेशी भूमिमा गर्ने श्रम र मेहनत आफ्नै गाउँमा गर्ने हो भने रोजगारको लागि भतारिनु पर्दैन भन्ने उदाहरण यी दम्पती बनेका छन  ।  फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने र फर्मको हेरचाह गर्नमै दिन बित्ने गरेको छ ।

च्याउको साथमा तरकारी खेतीबाट पनि राम्रो आम्दानी हुँदै आएको र व्यवसायबाट सन्तुष्ट मिलेको उनकी श्रीमती टिका बस्नेतले बताउछिन। कोशी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन ।

यहाँ उत्पादन भएको च्याउ स्थानीय बजार,जिल्ला सदरमुकाम र तेह्रथुमको वसन्तपुर,शुक्रबारे लगायतका बजारमा बिक्री हुँदै आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।