झापाः इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै विक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारीहरु पुग्ने गरेका छन् । 

वडा नम्बर ६ मा मात्र बार्षिक ८८० मेट्रिन सुन्तला उत्पादन हुँदै आएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायतको क्षेत्रमा प्रतिहेक्टर १० दशमल ३ मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। 

विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसानहरु निराश बनेका थिए । ज्ञान केन्द्रले किसानहरुलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिको बारेमा तालिमहरु सञ्चालन गरेसँगै उनीहरुमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताए । सो वडाको ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उनले जानकारी दिए।

उनका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रम अन्तरगत छ जना सुन्ताला किसानलाई गतबर्ष रु। एक लाखका दरले अनुदान समेत प्रदान गरेको थियो । चालु आर्थिक बर्षमा समेत किसानहरुले सो कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खडका अनुसार इलाम जिल्लाका विभिन्न स्थानमा गरी ३६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यवसायिक खेती हुने गरेको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम समेत भइरहेको बताए । उनले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा समेत विस्तार हुन थालेको बताए । 

उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटकहरु होमस्टेमा बास बस्दै आउने गरेको समेत जानकारी दिए। सलकपुरमा मात्र १४ वटा होमस्टे सञ्चालनमा रहेका छन् । उनीहरुलाई भने प्रतिकेजी रु ८० देखि ९० मै दिने गरिएको छ ।

उनले विसं २००४ मा दार्जीलिङबाट आएर बसोवास गर्नुभएका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुवात गरेको बताए । सुरुमा दार्जीलिङबाट विरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको विरुवा ल्याएर व्यवसायिक रोपण भइरहेको उनको भनाई छ ।

सुन्तला खेतीबाट बार्षिक वडा नम्बर ६ मा रु पाँच करोडदेखि छ करोडसम्म रकम भित्रिने गरेको छ । यस क्षेत्रमा उत्पादन गरेको सुन्तला विक्रीका लागि बजार खोज्नु पर्ने बाध्यता नभएको उनले बताए। “झापादेखिका व्यापारीले सुन्तला नपाकी बोटमै खरिद गर्छन्”, उनले भने, “उत्पादनमा मात्र ध्यान दिए पुग्छ बजारको समस्या छैन ।”

अध्यक्ष राईले यहाँका हरेक सुन्तला किसानले बर्षमा रु। पाँच लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले चालु आर्थिक बर्षमा वडाले सुन्तला किसानको समूह बनाएर अध्ययन अनुसन्धान पनि हुने र विरुवा खरिदका लागि बाहिर जानु पर्ने बाध्यता हटाउन नर्सरी खेती सञ्चालन गर्ने तयारी गरिरहेको बताए। 

स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैंची मासेर १५ रोपनी जमिनमा व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन । जसमध्ये १० प्रतिशत क्षेत्रको सुन्तलाले यस बर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाई छ । “राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन”, उनले भने, “स्थानीय वडाले सुन्तला खेतीलाई प्रोत्सहान गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।”

विगतमा यहाँको सुन्तला खरिदका लागि भारतीय व्यापारी समेत आउने गरेका थिए । तर, स्थानीय किसानले भारतीय व्यापारीलाई भन्दा नेपाली व्यापारीलाई नै प्राथमिकता दिन थालेपछि उनीहरु आउन छाडेका छन् । 

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषि जन्य सामाग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका बिभिन्न ठाउँबाट त्यसैको अध्यनका लागि पनि पर्यटकहरु आउने गरेको वडाध्यक्ष राईको भनाई छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकत्तामा हुने सुन्तला महोत्सवमा समेत प्रत्येक बर्ष लैजाने गरिन्छ ।

झापाका, काँकरभिट्टा, धुलाबारी, विर्तामोड, दमक, भद्रपुर मात्र होइन हरेक गाउँ गाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका छन् । रासस