इटहरीः प्रदेश १ मा मुख्य कार्यालय राखेर कुनै पनि वाणिज्य वा राष्ट्रिय स्तरका बैंकहरू सञ्चालन भएका छैनन् । तर, विकास बैंकहरू भने प्रदेश १ मा राम्रोसँग सञ्चालनमा आएका छन् । प्रदेश १ को भूगोलमा काम गर्ने विकास बैंकले सुनसरी, मोरङ, झापा, धनकुटा र खोटाङ जिल्लामा मुख्य कार्यालय राखेर विभिन्न जिल्लामा सेवा दिइरहेका छन् ।
प्रदेश १ का केही विकास बैंकहरू विभिन्न विकास तथा वाणिज्य बैंकहरूसँग मर्ज भए पनि केही विकास बैंकहरू भने राम्रोसँग सञ्चालनमा छन् । प्रदेश १ को उत्तर पश्चिमको जिल्ला खोटाङमा सञ्चालनमा रहेको साल्पा विकास बैंकको सेयर धितोपत्र बोर्डमा सूचीकृत भएको छैन । सो बैंकले खोटाङको दिक्तेलमा कार्यालय राखेर वित्तीय सेवा दिइरहेको छ । यी हुन् प्रदेश १ को पूँजी प्रयोग गरेर प्रदेश १ कै भूगोलमा सञ्चालित र सर्वसाधारणमा सेयर जारी गरेका पूर्वका विकास बैंकहरूः
१. एक्सल डेभलपमेन्ट बैंक
२०६२ साल साउन ६ गते झापाको बिर्तामोडमा मुख्य कार्यालय राखेर स्थापना भएको हो एक्सल डेभलपमेन्ट बैंक । ३० वटा शाखा कार्यालयहरू रहेको यो बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल रहेका छन् । झापा, इलाम र मोरङमा कार्यक्षेत्र रहेको यो बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
पछिल्लो ६ महिनामा यो बैंकको साधारण सेयरको प्रति कित्ता औसत बजार मूल्य २ सय ९८ रुपैयाँ रहेको छ । दोस्रो बजारमा आइतबार यो बैंकको सेयरमूल्य २ सय ८५ रुपैयाँ कायम भएको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
२. मितेरी डेभलपमेन्ट बैंक
धरान–१२ महेन्द्र पथमा रहेको मितेरी डेभलपमेन्ट बैंक धरानसँगै प्रदेश १ को अब्बल विकास बैंकको रूपमा चिनिएको छ । २०६३ असोज २७ गते स्थापना भएको यो बैंकको कार्यक्षेत्र प्रदेश १ का तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरी रहेको छ । १७ वटा शाखा कार्यालय रहेको यो बैंकका अन्य शाखाहरू पनि बिस्तार हुने क्रममा छन् । चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको मितेरी बैंकको रिजर्भ कोषमा मात्रै २२ करोड ६६ लाख भन्दा धेरै रकम रहेको छ ।
तुलसीप्रसाद वस्ती प्रमुख कार्यकारी अधिकृत रहेको यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ करोड ५६ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हाल यो बैंकको साधारण सेयरको मूल्य औसतमा २ सय ८२ रुपैयाँ रहेको छ । आइतबार यो बैंकको सेयर २ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
३. सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड
मोरङको टंकिसिनुवारीमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकका १६ वटा शाखा कार्यालयहरू रहेका छन् । मोरङ, सुनसरी, झापा, इलाम र पाँचथर कार्यक्षेत्र रहेको यो बैंकको स्थापना २०६९ साल असोज १६ गते भएको हो ।
नवीन सुवेदी प्रमुख कार्यकारी अधिकृत भएको यस बैंकको ४८ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । विगत ६ महिनामा कारोबार भएको साधारण सेयरको औसत मूल्य १ सय १८ रुपैयाँ रहेको छ । आइतबार यस बैंकको सेयर १ सय १३ रुपैयाँमा कारोबार भएको धितोपत्र बोर्डले जनाएको छ ।
४. काबेली विकास बैंक लिमिटेड
धनकुटा जिल्लामा मात्रै कारोबार गर्ने स्वीकृति लिएर २०६४ साल पुस १ गतेबाट सञ्चालनमा आएको हो काबेली विकास बैंक । तेह्रथुमको माउन्ट मकालु बैंकसँग मर्ज भएपछि भने तेह्रथुममा पनि काबेली विकास बैंकले कारोबार गर्न थालेको हो ।
शैलेन्द्र श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत रहेको यो बैंकको हिले, सिँधुवा, राजारानी, जिरीखिम्ती र बुधबारे जस्ता स्थानमा आफ्ना शाखा कार्यालयहरू रहेका छन् । २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ चुक्ता पूँजी रहेको यो बैंकको औसत मूल्य २ सय ७२ रुपैयाँ रहेको छ । आइतबार यो बैंकको सेयर २ सय ८ रुपैयाँमा किनबेच भएको छ ।