इटहरीः पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा माघ २४ देखि फागुन ३ गतेसम्म इटहरी फुड फेस्टिबल हुने भएको छ । इटहरीको होटल व्यवसायीहरूको साझा संस्था होटल एसोसिएसन अफ इटहरीले फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।

३० हाराहारीका स्टलमा विभिन्न स्थानीय, जातीय, नेपाली र भारतीय परिकारहरू राखिने आयोजक होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए । इटहरी उपमहानगरपालिकाको सभाहलमा सोमबार भएको छलफलमा फुड फेस्टिबलको बारेमा जानकारी गराइएको हो ।

छलफलको क्रममा आयोजक होटल व्यवसायी सङ्घका महासचिव उमेश दाहालले स्थानीय जातीय खाना तथा प्रदेश १ को पर्यटकीय क्षेत्रको प्रवद्र्धनको लागि फुड फेस्टिबल आयोजना गर्न लागिएको बताए ।

त्यस्तै, फुड फेस्टिबलमा खानाका साथै स्थानीय पर्यटकीय गन्तव्यको प्रचारसमेत गरिने फेस्टिबल आयोजक समितिका संयोजक दीपक पोखरेलले बताए ।

स्थानीय पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न हेलिकोप्टरबाट प्रदेश एकका पर्यटकीय क्षेत्र घुमाउने व्यवस्था गरिने भएको छ । दाहालले भने, ‘हामीले स्थानीय मात्र नभएर प्रदेश नम्बर १ कै पर्यटकीय गन्तव्यको हवाइ अवलोकन गर्नका लागि हेलिकोप्टरको व्यवस्था गर्न लागेका छौँ ।’

छलफल कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायत इटहरीका होटल व्यवसायीको उपस्थिति थियो ।