भोजपुरः भोजपुर जिल्लाकै सबैभन्दा ठूलो ५ मेघावाट विद्युत क्षमताको इष्टर्न हाइड्रोपावर आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । प्राविधिक कारणवश झण्डै साढे ५ वर्ष रोकिएको सो जलविद्युत आयोजनाको काम अहिले तीव्र गतिमा अघि बढेको छ ।

१ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पिपिए अनुसार ०७६ असार मसान्तसम्म काम सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा फागुन अन्तिममा काम सकिने देखिएको आयोजनाले जनाएको छ ।

‘आयोजनाको फेब्रिकेसन (कच्चा फलामका पातालाई पाइपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम), मुहान बाँधको निर्माणको काम भइरहेको इष्टर्न हाइड्रो पावरका इन्जिनियर रोशन साहले बताए । साहले भने, आयोजनाको विद्युतगृहदेखि मुहानसम्मको ४ किलोमिटर एड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा पुगेको छ, विद्युत गृहमा टर्बाइन राख्ने काम बाँकी छ त्यसको लागि चीनको प्राविधिक टोली आएर जडान गर्ने बताइएको छ ।

०६२ सालमा ४५ करोडको लगानीमा २ दशमलव ५ मेघावाट क्षमताको विद्युत उत्पादन हुने गरी नेपाल विद्युत प्राधिकरणसँग सम्झौता अनुरुप आयोजनाको सर्भे गरिएको थियो । ०६७ सालबाट आयोजनाको निर्माण शुरु भए पनि सडक, विद्युत प्रशारण, इन्धन, नाकाबन्दी, भू–कम्प, विविध राजनीतिक गतिरोधका कारण निर्माण ठप्प जस्तै भएको थियो । पछि ०७२ सालको अन्त्यतिर आयोजनाको विद्युत क्षमता बढाएर ५ मेघावाट पु¥याइएपछि निर्माणको कामले गति लिएको इष्टर्न हाइड्रो पावरका आयोजना अधिकृत दीपेन राईले बताए । राईले भने, ‘नेपाल विद्युत प्राधिकरणलाई ३५ वर्षपछि हस्तान्तरण गरिने ५ मेघावाटको आयोजनाको बिजुली आगामी फागुन महिनाबाट सर्वसाधारणमा वितरण गरिनेछ ।’

हाइड्रोपावरको कुल १ अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रका लागि कुल ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर आगामी माघबाट खुल्ने आयोजना राईले बताए ।

eastern hydro  (4)