खोटाङः खोटाङ जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन् । २ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएका हुन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रित बैंकहरूले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेका छन् ।
कुन स्थानीय तहमा कुन बैंक
खोटेहाङ, एँेसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा कृषि विकास र सालपा विकास बैंक, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा, साकेला गाउँपालिकामा एसबीआई र वराहपोखरी गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार गरिएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसी समेटिएको हलेसी तुवाचुङ नगरपालिकामा सालपा विकास बैंक, सेन्चुरी र माछापुच्छ्रे बैंकको शाखा विस्तार गरिएको छ । माछापुछ«ेले सो नगरपालिकाको राजापानी, मङ्गटार, अर्खौले, धितुङ र च्यास्टिारमा सेवा केन्द्र सञ्चालन गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा तीनभन्दा बढी बैंकको शाखा तथा सेवा केन्द्र विस्तार गरेर सञ्चालनमा ल्याइएको बताइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा राष्ट्रिय वाणिज्य, कृषि विकास, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास, ज्योति विकास बैंकलगायत सञ्चालनमा रहेका छन् ।
सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरूले बताएका छन् ।
हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्ने सरकारको नीतिअनुरूप जिल्लाका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गरिएको सांसद विशाल भट्टराई बताउँछन् ।
देश सङ्घीय संरचनामा जानुअघि सबै सरकारी कार्यालय रहेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दर्जनभन्दा बढी सहकारी संस्था तथा लघुवित्तहरू पनि सञ्चालनमा रहेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा विस्तार गरिएको बैंकको बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीको गस्ती टोली खटाइएको छ । बैंकको शाखा नजिक पर्ने प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चौबिसै घण्टा बैंकको सुरक्षा गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।