विराटनगरः चालु आर्थिक वर्षको ३ महिनामा ३ लाख ४ हजार केजी गोलभेडा मेची भन्सार नाकाबाट भारततर्फ निर्यात भएको छ । गत आर्थिक वर्षमा यो परिमाण १ हजार ४ सय केजी मात्रै देखिन्छ ।
कृषिमा आत्मानिर्भरता बढेसँगै निर्यातजन्य वस्तुको भारततर्फ व्यापार हुने गरेको देखिन्छ । नेपालमा उत्पादन भएको गोलभेडा भारततर्फ निर्यातको सूचीमा नरहेको भन्दै भारतले रोक समेत लगाउँदै आएको छ । गत भदौमा भारतले गोलभेडा निर्यातमा लगाएको रोकलाई सरकारीस्तरको पहलमा खुलाइएको थियो ।
गोलभेडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर बन्दै गए पनि गोलभेडाबाटै बन्ने वस्तु भने नेपालमा आयात हुँदै आएको छ । प्रशोधन गर्ने उद्योग एवं प्रविधि नभएका कारण भारतसहित तेस्रो मुलुकबाट टोमाटो पेष्ट र टोमाटो सस आयात हुने गरेको छ ।
आन्तरिक उद्योग स्थापनाको वातावरण निर्माणमा तीन तहका सरकार सचेत नहुँदा निर्यातजन्य कच्चाको प्रशोधित वस्तु आयात गर्नुपर्ने बाध्यता रहेको छ । वीरगञ्ज, मेची र विराटनगर भन्सारबाट टोमाटो सस तथा पाउडर आयातको तथ्याङ्कले नेपालमा प्रशोधन गर्नुपर्ने उद्योगको माग गरेको देखिन्छ ।
अघिल्लो वर्ष वीरगञ्ज भन्सार नाकाबाट २३ करोड रुपैयाँ बराबरको गोलभेडा पाउडर आयात भएको सूचना अधिकृत सन्तोष यादवले जानकारी दिए । मेची भन्सार कार्यालयबाट ६ करोड ४५ लाख रुपैयाँको १० लाख ३२ हजार किलो टोमाटो पाउडर आयात भएको थियो ।
तयारी सस ४ हजार ५ सय किलो आयात भएको भन्सार कार्यालयका अधिकृत किरण अर्याल बताउँछन् । विराटनगर भन्सार नाका हुँदै ४ करोड ७२ लाख रुपैयाँको ४ लाख ९८ हजार ३ सय २७ किलो टोमाटो पाउडर आयात भएको देखिन्छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मेची भन्सारबाट ४ करोड ९३ लाखको १९ लाख ५४ हजार केजी र विराटनगर भन्सार भएर ६८ लाख ५७ हजार रुपैयाँकोे ६३ हजार ८ सय ४८ केजी टोमाटो पाउडर आयात भएको तथ्याङ्क छ ।
गोलभेडाको पाउडर र तयारी सस भारत, भुटान र तेस्रो मुलुकबाट भित्र्याउनेमा सस उत्पादनका लागि खोलिएका उद्योगकै सूची छ । स्थानीय कृषि उत्पादन खरिद नगरी ती उद्योगले पाउडर आयात गर्ने गरेका कारण आयात र निर्यात व्यापारको सन्तुलन बिग्रँदै गएको देखिन्छ ।
अचारसहित गोलभेडाको सस उत्पादन गर्दै आएको रिजाल टाँसी उद्योगका व्यवस्थापक खेलनारायण पराजुली मूल्य अन्तरका कारण पाउडर तथा अर्ध प्रशोधित वस्तु आयात गर्नुपर्ने बाध्यता रहेको तर्क गर्दछन् । रिजाल टासी उद्योगले आयात गरेको ससलाई ब्राण्ड दिएर वार्षिक ७० हजार केजी गोलभेडा बजारमा बिक्री गर्दै आएको छ ।