विराटनगरः उखु रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै उखु खेतीमा संलग्न हुने किसानले राहत महसुस गर्न थालेका छन् । बहुवर्षे नगदे बाली उखु खेतीमा संलग्न किसान प्रविधिसँग जोडिएपछि कृषि मजदुर र कामदारको अभावको झन्झटबाट मुक्त हुँदै प्रविधिको प्रयोगमा किसान आकर्षित भएका हुन् ।

कृषिलाई पेशा बनाउँदै आएका किसानलाई प्रविधिले दिएको राहतसँगै पेशाप्रतिको आत्मसम्मान समेत बढ्न थालेको छ । आत्मसम्मानविहीन झन्झटिलो तर आवश्यकतासँग जोडिएको कृषि पेशामा भित्रिएको यान्त्रिकीकरणको प्रयोगबाट सुनसरी र मोरङमा उखु खेती गर्ने किसानको सङ्ख्या समेत पछिल्लो २ वर्षमा वृद्धि भएको देखिन्छ ।

किसानले उखु बाली लगाउने तयारी शुरु गर्दा खेतलाई गहिरो खनजोत गर्न (एनबी प्लाउ), जोतिएको जमिनलाई नाला बनाउन (ट्रेन्ज रिजर), उखु रोप्न (केन प्यान्टर), उखु गोड्ने (ट्रेन्ज) र काटिसकेको उखुको फेदमा रहने खुट्टी व्यवस्थापन गर्न (र्याटुन मेनेजमेन्ट डिआईस) मेसिनको प्रयोग गर्न थालेका छन् । किसानको खेतमा पाकेको उखु बालीलाई काट्न र ढुवानीका लागि लोड गर्ने (हार्भेष्टर) समेत सुनसरीको बर्जु गाउँपालिका–५ स्थित इष्टर्न सुगर मिलले भित्र्याएको छ ।

कृषिमा बढ्दै गएको यान्त्रिकीकरणका औजारमध्ये उखु खेतीका लागि सबैभन्दा बढी र बहुआयामिक प्रयोगका औजार भित्रिएपछि किसानले राहत महसुस गर्न थालेको सुनसरी देवानगञ्जका मनोज भगतको भनाइ छ । औजार भित्रिएसँगै यसैवर्षदेखि उखु खेती शुरु गरेका भगत सबै प्रकारका मेसिन खरिद गरेर खेती गर्न भने नसकिने बताउँछन् ।

पाकेको उखु काट्ने र लोड गर्ने हार्भेष्टरलाई १ करोड रुपैयाँ हाराहारी मूल्य पर्ने बताइन्छ । किसानको उखु खरिद गर्दै आएको इष्टर्न सुगर मिलले गत वर्ष भित्र्याएको हार्भेष्टरले ३ जिल्लाका उखु किसानको माग र आवश्यकतालाई धान्न सकेन । यो मेसिनले उखु काटेर र ढु्वानीका लागि सोझै लोड गर्न सक्छ । दैनिक दुई बिघा जमिनको उखु यसले व्यवस्थापन गर्न सक्छ । मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताका अनुसार किसानको माग र आवश्यकता अनुसार तीन जिल्लामा १० वटा हार्भेष्टर मेसिनले ३ महिना काम पाउन सक्छन् ।

खुट्टी काट्ने र्याटुन मेनेजमेन्ट डिभाइसको १ लाख १६ हजार रुपैयाँ मूल्य पर्दछ । यी २ मेसिन बाहेकका अन्य मेसिनको मूल्य किसानले धान्न सक्नेछन् । गहिरो खनजोतका लागि प्रयोगमा आउने (एनबी प्लाउ) को मूल्य ४० हजार, नाला बनाउने ट्रेन्ज रिजर ४२ हजार, उखु रोप्ने केन प्यान्टर २० हजार रुपैयाँ पर्ने बताइन्छ ।

इष्टर्न सुगर मिलले भित्र्याएका यी मेसिन उखु किसानले भाडामा प्रयोग गरिरहेका छन् । तर, किसानले तीनै तहका सरकारमार्फत् कृषिमा आउने अनुदानमार्फत् मेसिन खरिद गरिदिनुपर्ने माग उनीहरूको छ । उखु खेती भइरहेका स्थानीय तहको निगरानीमा रहने गरी यस्ता मेसिनको सहुलियत सरकारले दिनुपर्ने मोरङ कटहरी गाउँपालिकाका किसान देवानन्द शर्मा बताउँछन् ।

गत वर्ष झापा, मोरङ र सुनसरीका २ हजार किसानले ११ लाख ७८ हजार क्वीन्टल उखु उत्पादन गरेर इष्टर्न सुगर मिललाई बिक्री गरेका थिए । यस वर्ष उखु उत्पादन गर्ने किसानको सङ्ख्या २ हजार ४ सय पुगेकाले १५ लाख क्वीन्टल उत्पादन अनुमान गरिएको छ ।

तर, तीनै जिल्लामा गरी उखु खेती गर्ने किसानको सङ्ख्या बढेर ३ हजारको हाराहारीमा पुगिसकेको बताइन्छ । दैनिक ३० हजार क्वीन्टल उखु पेल्न सक्ने क्षमता भएको इष्टर्न सुगर मिललाई वार्षिक ३० लाख क्वीन्टल उखु उत्पादन भए मिलको आवश्यकता पूर्ति हुन्छ ।

उखुको मूल्यमा ठगिने किसान यान्त्रिकीकरणको प्रयोगबाट उत्पादन लागत घटाउने, उखुसँगै लगाउने अन्य बालीबाट दोहोरो लाभ लिने र बीउमा खपत हुने उखुको परिमाण घटाउने उपायको खोजीमा देखिन्छन् ।