धुसेनीः धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।
ती गाउँका बासिन्दाको मुख्य आम्दानी नै निगालोका सामग्री बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्नु हो । प्रशस्त पानीको स्रोत रहेको यहाँका बासिन्दाले पछिल्लो समय कफी खेतीलाईसमेत प्राथमिकता दिँदै आएका छन् । गङ्गाजमुना(२ स्थित धुसेनीका ४४ वर्षीया मिरा तामाङ दैनिक पाँच वटासम्म थुन्से बुन्छिन् । उनका श्रीमान् सुवास वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । उनले थुन्से बिक्रीबाट गरेको आम्दानीबाट चार जना छोराछोरीको पालन पोषण गर्दै आएकी छन् । उनका दुई छोरा र दुई छोरी छन् ।
“मैले थुन्सेसँग चामल, नुन, तेल, मसलालगायतका सामग्री साट्ने गरेको छु, थुन्से बिक्री गर्नुपर्यो भने प्रतिथुन्से १८० दिने गरेका छन्, पहिले २०० सम्ममा बेचेको थियौँ अहिले खासै राम्रो भाउ आएको छैन”, उनी भन्छिन् । पछिल्लो समय यस गाउँमा मोटर बाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन् ।
यस्तै, सोही गाउँकी ७२ वर्षीया श्रीमाया तामाङ पनि निगालोका सामग्री बनाएर बिक्री वितरण गर्दै आएकी छन्। उनले निगालोका सामग्री बनाएको पचासौँ वर्ष भइसक्यो । उनको घरमा हाल नौ जनाको परिवार छ । “यो गाउँमा बिहे गरेर आएदेखि नै निगालोका सामग्री बनाउन सुरु गरेको हुँ, यहाँका सबै मान्छेले निगालोबाट बनेका सामग्री बनाउनुहुन्छ”, उनी भन्छिन् । यहाँका महिला आफैँ निगालो काटेर ल्याएर चोया काढेर निगालोका सामग्री बुन्छन् ।
सोही गाउँका ७८ वर्षीय लेका लामा पनि लामो समयदेखि निगालोका सामग्री बनाउँदै आएका । लेका थुन्से, डोका, डाला, मान्द्रो, भकारी सबै सामग्री बनाउँदै आएका छन्। उनलाई थुन्से बुन्नका लागि श्रीमती कान्छी तामाङलेसमेत साथ दिँदै आएकी छन् । पुर्ख्यौली पेसा भएको कारण पनि यहाँका सबै घरका मानिस निगालोका सामग्री बनाउन व्यस्त हुँदै आएका छन् । धुसेनी, लताप र तावलमा मात्र चार सयभन्दा बढी घर रहेका छन् । यहाँका अधिकांश घरको आम्दानीको स्रोत नै निगालोका चोयाबाट बनेका सामग्री बिक्री वितरण नै हो ।
यहाँका बासिन्दाले आफ्नो पाखा बारी र अनुत्पादक भूमिमा निगालो खेती गर्दै आएका छन् । गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङ यहाँका प्रत्येक घरले वार्षिक एक हजारदेखि एक हजार पाँच सयसम्म निगालोबाट बनेका सामग्री बिक्री वितरण गर्दै आएको बताउछन् । यहाँ उत्पादित निगालोका सामग्री धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीदेखि गोरखा, चितवन, काठमाडौँ, पोखरा, लमजुङलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष तामाङ बताउछन् । पछिल्लो समय गङ्गाजमुना गाउँपालिकाले सफा र स्वच्छ गङ्गाजमुना अभियानसमेत सुरु गरेको छ ।
उक्त गाउँपालिकाभित्र उत्पादित फोहरलाई व्यवस्थापन गर्नका लागि गङ्गाजमुनाले प्रत्येक वडा र गाउँमा फोहर फाल्नका लागि निगालोबाट बनेका थुन्सेको प्रयोग गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ स्थानीयस्तरमा उत्पादित सामग्रीलाई गाउँपालिकाले प्रयोगमा ल्याएर फोहर व्यवस्थापनमा लगाएको बताउछन् । उक्त गाउँपालिकाले वडा नम्बर १ रिगाउँदेखि वडा नम्बर ७ बुढाथुमसम्मका प्रत्येक वडा र गाउँमा थुन्सेको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउछन् ।
पर्यटनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले भर्खरै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को समेत अन्वेषण तथा प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ । गङ्गाजमुनाभित्र रहेको प्राकृतिक, संस्कृति र साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सीजी एसोसिएसन अफ नेपाल (टान)को सहकार्यमा सम्भावित क्षेत्रको अध्ययन तथा अवलोकन गरेको छ । गाउँपालिकाका पर्यटन विकास संयोजक एवम् वडा नम्बर ६ का वडाध्यक्ष रमेश ढकाल पर्यटकलाई गङ्गाजमुनाभित्र आकर्षण गर्नका लागि सरसफाइ र आतिथ्य नै महत्त्वपूर्ण भएको बताउछन् ।
“गङ्गाजमुनालाई सरसफाइको हिसाबले नमुना गाउँपालिका बनाउनका लागि हामीले स्थानीयस्तरमा उत्पादित निगालोबाट बनेका थुन्सेलाई ‘डस्बिन’कारुपमा प्रयोग गरेका हौँ”, उनी भन्छन् । गङ्गाजमुना गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मायाको चिनो स्वरूप स्थानीय तहमा उत्पादित निगालोबाट बनेका सामग्रीलाई प्राथमिकता दिने संयोजक ढकाल बताउछन् । उनले निगालोका सामग्रीलाई पर्यटन प्रवर्द्धनसँग जोड्नका लागि गाउँपालिकाले काम गर्ने बताउछन् । रासस