डडेल्धुराः दश वर्ष पहिले माईतबाट ल्याएको एक बाख्रा पालेकी कल्पनादेवी पातलीको खोरमा अहिले २२ वटा माउ बाख्रा छन । आलिताल गाउँपालिका १ चम्सालकी पातली एक बाख्राबाट मात्रै वर्षमा ५० हजार आम्दानी गर्न सफल भएपछि हाल बाख्रा बढाउदै आईरहेकी छन । मैले माईतबाट ल्याएको त्यो एउटा बाख्रा एक वर्षमा कहिले दुई पटक पनि ब्यायो । उनले भनीन्, अहिले पनि त्यो बाख्रा छ । ११ बेती ब्याईसकेको छ । वर्षमा थोरै भए पनि सात–आठ लाख रुपियाँ कमाउन सकिनेमा विश्वस्त भएको उनले सुनाइन ।

खोर बनाउन ७० हजार रुपियाँ अनुदानमा पाएपछि हाल ठूलो खोर बनाई बाख्राको संख्या बढाएको उनले बताईन । बाख्रा पालन गर्दै आएका किसानलाई भेटेनेरी अस्पताल तथा विज्ञ केन्द्र डडेल्धुराले खोर बनाउन अनुदानमा सहयोग गरेपछि सहज भएको उनले बताईन । पहिले सानो खोर बनाई बाख्रा पालन गर्दै आएका किसानलाई खोरमा सहयोग पाएपछि वडा नं। १ को चम्साल, मेलखर्क, देउवागाउँका स्थानीयहरुले ठूला खोरहरु निर्माण गरेको उनले बताईन ।

मेलखर्क गाउँकी भागरती बोहराको खोरमा हाल २५ वटा बाख्रा छन । बिहे गरेर मेलखर्क गाउँमा आएदेखिन बाख्रा पाल्दै आएको उनले बताईन । बाख्रा पालेरै छोरा छोरी हुर्काई जेठो छोरालाई अहिले जापान पठाएको उनले सुनाईन । गत पुसमा जेठो छोरा जापान गएपछि हाल साढे तीन् लाख रुपियाँ खर्च गरि बाख्राको नयाँ खोर बनाएको उनले बताईन । बाख्रा पालनबाट राम्रो आम्दानी हुनथाले पछि गएको वैशाख महिनामा बाख्रा खरिद गरि व्यवसायीक रुपमा लगाएको उनको भनाई छ ।

चम्साल गाउँकी कौशा बोहरा उमेर ६० पुगिन । उनले होस भएको दिन देखि बाख्रा चराएको बताईन । पहिले देखि नै बाख्रा पालन गर्दै आएको बताउने उनीले बाख्रा पालनबाट हाल सम्म राम्रै भईरहेको सुनाईन । बाख्रा पालनबाटै सात जनाको परिवार धानिरहेको उनले बताईन । खोर बनाउन सरकारले केही रकम दिए पछि बाख्रा पाल्ने रहर अझै भएको उनको भनाई छ ।

बृहत बाख्रा पालन पकेट क्षेत्रका रुपमा विकास गर्न यस क्षेत्रका किसानलाई अनुदानमा खोर निर्माणका लागि भेटेनेरी अस्पताल तथा विज्ञ केन्द्रको २० लाख रकम भएको कार्यालय प्रमुख देवराज भट्टले बताए । ५० प्रतिशत अनुदानमा खोर निर्माणका लागि यो रकम थियो । उनले भने, यस क्षेत्रका किसान पहिले देखि नै बाख्रा पालन गर्दै आईरहेका थिए । कम्तिमा पनि दुई हजार बाख्रा पालन गर्न बृहत बाख्रा पालन पकेट क्षेत्र बनाएका छौ । यहाँका २७ परिवारहरुले काठका खोर निर्माण गरिसकेका छन । रकम भुक्तानी हुनु अगावै एक हजार १०० बाख्रा किसानका खोरमा भएको उनले जानकारी दिए । किसानहरुको समिति बनाई खोर निर्माण गर्न लगाएको उनले जानकारी दिए ।

यहाँका किसानले दुई लाख भन्दा कम खर्च नगरी खोर निर्माण गर्न नसकेको आलिताल बाख्रा पालन बहुउद्देशीय कृषक समितिका अध्यक्ष लक्ष्मण जोशीले बताए । अधिकांस किसानले सालको काठको खम्बा बनाई खोर निर्माण गरेकाले लागत बढेको उनले बताए । कोही कसैले कंक्रिटको पिल्लर दिई खोर निर्माण गरेको उनले जानकारी दिए ।

एक सय भन्दा बढी बाख्रा पालन गर्दै आईरहेका जोशीले वर्षमा कम्तिमा पनि १० लाख रुपियाँ आम्दानी गर्दै आईरहेको बताए । चार–पाँच बाख्रा त यहाँका सबै स्थानीयहरु पाल्दै आएका थिए । उनले भने, मैले बढी पालेको देखे पछि अरुहरुले पनि पाल्ने ईच्छा देखाए । त्यसपछि सहयोग माग्न म भेटेरिनेरी अस्पताल पुगे । त्यहाबाट खोर निर्माण गर्न केही रकम पाउने भएपछि समति बनाई खोर निर्माणमा लागेको उनले बताए ।

आलिताल क्षेत्रका स्थानीय पहिले देखि नै बाख्रा पालन गर्दै आइरहेका छन । परम्परागत रुपमा बाख्रा पालन गर्दै आईरहेको बेला बखत रोगको समस्या हुने गरेको छ । सरसफाई र आधुनिक खोर नहुदा रोगको संक्रमण फैलने भएकाले सरसफाईमा ध्यान दिन भेटेरिनेरी अस्पतालका कार्यालय प्रमुख भट्टले स्थानीयलाई आग्रह गरे । अब उन्नत जातका बाख्रा पालनका लागि सहयोग आवश्यक रहेको गाउँलेहरुको माग छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।