विराटनगरः उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण गरिएको चिनी सरकारले बिक्री गर्ने वातावरण नबनाउँदासम्म किसानसँग उखु नकिन्ने जनाउ दिएपछि उखु किसान समस्यामा परेका छन् ।

आयातीत चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै किसानको खेतमा भएको उखु किन्न अस्वीकार गरिएको हो ।

‘उखु काट्ने पूर्जी समेत जारी गरिएको छैन’, कोशी उखु उत्पादक सङ्घका अध्यक्ष शिवलाल चौधरीले भने, ‘बुधबार पनि इष्टर्न सुगर मिल व्यवस्थापन पक्षसँगको छलफल बिनानिष्कर्ष टुङ्गियो ।’

सुनसरी, मोरङ र झापाका २ हजारभन्दा बढी किसानले ५ हजार छ सय बिघा क्षेत्रफलमा लगाएको उखु खरिद गर्दै आएको इष्टर्न सुगर मिल व्यवस्थापन पक्षले अहिलेसम्म उखु काट्न पूर्जी जारी गरेको छैन । समयमै उखु काटेर किसानले बिक्री गर्न नपाए आगामी वर्षको उत्पादन समेत प्रभावित हुन सक्छ ।

गत वर्ष आवश्यकता भन्दा बढी चिनी आयात भएपछि नेपालका उद्योगको उत्पादन बिक्री हुन नसकेको उद्योगीको भनाइ छ । उत्पादन भएको चिनीको लागत अनुसार मूल्य पाउने र खपत हुने अवस्था नआउँदासम्म उखु खरिद गर्न असमर्थ रहेको दबाब उद्योगीले किसानलाई दिँदै आएका छन् ।

उखुको समर्थन मूल्य निर्धारणमा त्रिपक्षीय वार्ता जरुरी रहे पनि सरकारले उद्योगीको हितविपरीत मूल्य निर्धारण गर्दा समस्या उत्पन्न भएको बताइन्छ । तर, सरकारले उखुको समर्थन मूल्य तोक्नु अगावैदेखि उद्योगीले उखुको मूल्य न्यून प्रस्ताव गरेर किसानलाई स्वीकार गर्न दबाब दिँदै आएका थिए ।

सरकारले उखुको समर्थन मूल्य प्रती क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा कटाएर ४ सय ७१ रुपैयाँ २८ पैसा प्रतिक्वीन्टल उखुको मूल्य किसानले पाउनुपर्ने हुन्छ ।

इष्टर्न सुगर मिल व्यवस्थापन पक्षले सरकारले तोकेको मूल्यमा उखु बिक्री गर्ने मनसाय राखे खेतमै सुकेर जान सक्ने जनाउ किसानलाई दिँदै आएको अध्यक्ष चौधरीको आरोप छ । मिल सञ्चालक पक्षले यस वर्ष ३ सय ८५ रुपैयाँ प्रतिक्वीन्टलमा उखु उपलब्ध गराउन किसानलाई दबाब दिँदै पूर्जी जारी गर्न आनाकानी गरिरहेको छ ।

उखुको मूल्यका आधारमा चिनीको मूल्य न्यून भएकाले इष्र्टन सुगर मिलले धान्न नसक्ने मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताको भनाइ छ । १ क्वीन्टल उखुबाट ९ केजी चिनी मात्रै उत्पादन हुने मिलका उत्पादन निरीक्षक बिआर दाहाल बताउँछन् । तोकिएको मूल्य अनुसार प्रतिकेजी ५५ रुपैयाँमा बिक्री गर्दा उद्योगीको लागत घाटामा जाने उनी बताउँछन् ।

इष्टर्न सुगर मिललाई गत वर्ष किसानले ११ लाख ७८ हजार क्वीन्टल उखु बिक्री गरेका थिए । यो वर्ष खेतीयोग्य जमिन र उत्पादन वृद्धिले १५ लाख क्वीन्टल पुग्ने अनुमान गरिएको छ । मिलले गत वर्ष उत्पादन गरेको १ लाख ६ हजार क्वीन्टलमध्ये अझैसम्म ३० हजार क्वीन्टल चिनी बिक्री हुन बाँकी रहेको बताइएको छ ।

नेपाल चिनी उद्योग महासङ्घका अध्यक्ष शशिकान्त अग्रवाल उखुको जस्तै चिनीको मूल्यमा समेत सरकार गम्भीर हुनुपर्ने मागसहित छलफल गरिरहेको बताउँछन् । उनले महोत्तरीको बर्दिवासमा बुधबार उद्योगी–उद्योगीबीचको छलफलसहित किसानसँगको छलफल भएको र निष्कर्षउन्मुख रहेको दाबी गरे ।

‘उखु बेच्ने वातावरण तयार गरेजस्तै चिनी बिक्री गर्ने वातावरणको माग गरेका हौं’, अध्यक्ष अग्रवालले भने, ‘एकोहोरो मूल्य तोकिदिएर अवस्था झन् भाँडियो ।’

नेपालमा गत वर्ष २ लाख ३६ हजार मेट्रिक टन चिनी आयात हुँदा नेपाली उद्योगले उत्पादन गरेको चिनी भण्डारमै थन्किएर बसेको छ । नेपालका ११ वटा चिनी उद्योगले १ लाख ७८ हजार मेट्रिक टन चिनी गत वर्ष उत्पादन गरेकोमध्ये ७० मेट्रिक टन अझै बिक्री हुन नसकेको बताइन्छ । नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार मेट्रिक टन मात्रै छ ।