विराटनगरः मोरङको बुढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजस्व समितिले कुनकुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले व्यवसाय कर घटाउन बारम्बार दबाब दिँदै आएको थियो ।
अब कुटिर उद्योगले वार्षिक रु ५ हजार कर तिर्नुपर्नेछ । यसअघि ती उद्योगले १० हजार रुपैयाँ तिर्दै आएका थिए । बुढीगङ्गामा १६ घरेलु उद्योग छन् । साना उद्योगले अब वार्षिक रु ५० हजार मात्रै कर तिनुपर्ने भएको छ । यसअघि १ लाख रुपैयाँ व्यवसाय कर तिर्दै आएका थिए । बुढीगङ्गामा ५४ साना उद्योग रहेको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताए । उनका अनुसार बुढीगङ्गामा १९ मझौला उद्योग छन् ।
गाउँपालिकामा रहेका ठूला उद्योग आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयललाई प्रतिउद्योग रु ५ लाख व्यवसाय कर तोकिएको न्यौपानेले बताए । गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुन्छ ।
व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने अध्यक्ष चौधरीले बताए ।