पाँचथरः सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।

बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो ।

केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए ।

गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको उनले बताए ।

जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा बिस्तार भएको छ ।

फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ ।