इटहरीः चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रूपैयाँको मात्रै निर्यात गरेको हो। ‍

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आर्थिक वर्षको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ।

गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको छ।

नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ।

गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३  मुलुकसँग भने व्यापार नाफा छ। सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग रु १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो। अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन्।

गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

त्यस्तै, साउनमा तीन अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांक उल्लेख छ नेपालले बढी निर्यात गरेका वस्तुहरुमा कार्पेट, चिया, स्टील, धागोलगायत छन्। गत साउनमा नेपालले एक अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ।