दमकः दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थालेका छन् । उनले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत ६ महिनादेखि व्यावसायिक उत्पादन शुरु गरेका हुन् । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट कलम उत्पादन गर्ने सो उद्योगले विस्तारै बजार ओगट्न थालेको छ ।

३ वर्षसम्म खाडी मुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रूपमा उपयोग गर्न सो उद्योग सञ्चालनमा ल्याएको बताए । कुवेतको एउटा बैंकको स्टेशनरी विभागमा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा सो प्रविधि आफूले भित्र्याएको उनी बताउँछन् ।

वातावरणमैत्री सो उद्योग नेपालकै पहिलो उद्योग हुन सक्ने उनको अनुमान छ । कागजबाट कलम बन्ने तरिका इन्टरनेटमार्फत् सिकेको र प्रविधिको खोजी इन्टरनेटमार्फत् नै गरेको उनी बताउँछन् । अहिले प्रयोगमा आइरहेको काठको कलमले वातावरणमा असर गरिरहेको थाहा पाएपछि आफूमा कागजको कलम बनाउने इच्छा बढेको उनले बताए ।

३५ लाखको लगानीमा स्थापित उद्योगमा दैनिक १ लाख ५० हजार कलम उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल दैनिक ३ हजार कलम मात्रै उत्पादन भइरहेको उनले बताए । मागबमोजिम मात्र कलम उत्पादन गरेको उनी बताउँछन् ।