झापाः प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।

माघ ११ देखि १५ गतेसम्म ५ दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भुटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसीज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने भएका छन् ।

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालीम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरूको स्टल विशेष आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटनको माहोल तयार पार्दै पर्यटनमार्फत् समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुङ्गा सावित हुने ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर कार्की बताउँछन् ।