इटहरीः चालु आर्थिक वर्षको लागि गत असारमा नै भएको नगरसभाबाट इटहरीमा रात्रिकालीन बजार लगाउन बजेट छुट्टिएको थियो । स्थानीय व्यवस्थापिका अर्थात् नगरसभाले शहरको मुख्य क्षेत्रको रूपमा इटहरी चोकको सौन्दर्य बनाउन नमुना रात्रिबजार लगाउने भन्दै ४० लाख रुपैयाँ छुट्याएको थियो ।

सुरक्षा निकायसँग पनि आवश्यक समन्वय गरेर रात्रिकालीन बजार सञ्चालन गर्ने निर्णय नगरसभाको भए तापनि अहिलेसम्म देखिने गरी कामको शुरुवात हुन सकेको छैन । उपमहानगरपालिकाले गत असारमै पास गरेको बजेटको कार्यान्वयनको लागि पुस ६ गतेको कार्यपालिकाको बैठकबाट समिति गठन गराउनेबाहेक अरु काम शुरु हुन सकेको छैन ।

इटहरी उद्योग वाणिज्य सङ्घको हालको नेतृत्वले निर्वाचन घोषणापत्रमै इटहरीलाई कहिल्यै नसुत्ने शहर बनाइने आश्वासन दिए तापनि उपमहानगरपालिकाले बजेट छुट्याएपछि व्यवसायीहरू पनि खुशी थिए । तर बजेट विनियोजन भएर समिति बनिसक्दा पनि रात्रिकालीन बजारको स्वरूप कस्तो बनाउने भनेर अझैसम्म पनि छलफल हुन सकेको छैन ।
हालको उद्योग वाणिज्य सङ्घको कार्यसमितिले चुनावको बेला दिएको आश्वासनको समय पनि सकिन लाग्यो । अहिले सङ्घको अर्को चुनाव पनि आउन लागेको छ । उपमहानगरपालिकाले छुट्याएको बजेटको खर्च गर्ने प्रारूपसमेत अझैसम्म बन्न सकेको छैन ।
नगर सभाको बजेट कार्यान्वयन गर्न इटहरी उपमहानगरपालिकाको गत भदौ ३१ गते बसेको कार्यपालिका बैठकले इटहरीको आइतबारे बजारदेखि नेपाल टेलिकमसम्म रात्रिबजार लगाउने निर्णय गरेको थियो । गत पुस ६ गतेको बैठकले कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा ११ सदस्यीय रात्रिकालीन बजार व्यवस्थापन समिति गठन गरेको छ ।

समिति र ठाउँ मात्र चयन गरेको नगरपालिकाले रात्रिकालीन बजारको विषयमा अहिलेसम्म स्पष्ट र विस्तृत विवरण सार्वजनिक गर्नसमेत सकेको छैन । इटहरी उपमहानगरपालिकाले पहिलो पटकको लागि ४० लाख छुट्याएकोमा सो रकम के कसरी खर्च गर्ने र कस्तो संरचना तयार गर्ने भनेर सामान्य डिजाइन पनि तयार भएको छैन ।

समितिका संयोजक भट्टराई भन्छन्, ‘आउने नगरसभामा डिजाइनको विषयमा छलफल हुन्छ ।’ गत असारमा नगरसभाबाटै बजेट पास भएको थियो । तत्कालीन अवस्थामा नगरसभाले बृहत छलफल नै नगरी बजेट पास गरेको देखिन्छ ।
नगरसभाको निर्णयको र प्रारूपको आधारमा संरचना कस्तो बनाउने भनेर निर्णय हुन्छ । पास भएको बजेटमा प्राविधिकहरूले के कस्तो बनाउने भनी डिजाइन रेडी गरेर काम शुरु गर्नुपर्छ ।

‘त्यस्तो डिजाइनहरू केहि रेडी भएको रहेनछ’, अध्यक्ष भट्टराईले भने, ‘पुस अन्तिममा नगरसभा हुने रहेछ । फेरि नगरसभाले डिजाइनसहितको अन्य निर्णय गर्ने भएकाले केही दिन पर्खिएर निर्णय लिने छाँै ।’

निर्णय र बजेट पनि दुवै भएकाले रात्रिकालीन बजार लगाउने विषयको बाटो स्पस्ट रहे पनि प्राविधिक कारणले केही ढिलो भएको भट्टराईले बताए । रात्रिकालीन बजार शहरको पहिचान र प्रतिष्ठाको विषय भएकाले गौरवको आयोजना जस्तै रहे पनि उपमहानगर दरिलो रूपमा प्रस्तुत हुन भने सकेको छैन ।

Maghesankranti Mahotsav namje