भोजपुरः सुन्तला खेतीबाट निकै राम्रो आम्दानी गर्दै आएका भोजपुरका किसान उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका किसान सुन्तलाको उत्पादन कम भएपछि समस्यामा परेका हुन् ।

यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान गणेश प्रधानले बताए । उनका अनुसार गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी उत्पादनमा कमी आएको छ । समयमा वर्षा नहुनु तथा सुन्तलाको बोट पुरानो हुँदै जानुका साथै रोगका कीरा आदिको प्रकोपका कारण सुन्तला बगैँचा मासिँदै गएकाले उत्पादन घटेको पीडित किसान बताउँछन् ।

विगतका वर्षमा झैँ हेरचाह गरे पनि उत्पादनमा कमी आएको भोजपुर नगरपालिका–४ सिद्धेश्वरका भीमबहादुर मिजारले बताए । जिल्लाको सबै स्थानमा यस वर्ष सुन्तला नफलेको किसान बताउँछन् । जिल्लामा गत वर्ष ७ हजार ९ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको तथ्याङ्क छ ।

सुन्तलाबाट गत वर्ष २३ करोड ७६ लाख रुपैयाँ आम्दानी भएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा २ सय ८७ वटा ठूला बगैँचा र अन्य ठाउँमा सामन्य रूपमा सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादित सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडाँैलगायत स्थानमा खपत हुने गरेको छ । जिल्लाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौछा, साङपाङ, रानीवास, आम्तेक, प्याउली सिद्धेश्वर, गुप्तेश्वर, मूलपानीलगायतका ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

Maghesankranti Mahotsav namje