बेलबारीः जग्गा किनबेच गर्न सबै प्रक्रिया पूरा गरेपछि मालपोत कार्यालयले केही समयमै धनीपूर्जा हातमा लगाइदिन्छ ।

तर, मालपोत कार्यालयमा लगातार एक हप्तासम्म जाँदासमेत सेवाग्राहीले कार्यालयले दिने सेवा पाएका छैनन् । अघिल्लो महिना मालपोत कार्यालयले सेवाग्राहीलाई छिटो छरितो ढङ्गबाट सेवा दिने बताएको थियो । अनलाइन प्रविधिबाट जग्गा किनबेच हुन थालेपछि थप समय लागेको सेवाग्राहीको भनाइ रहेको छ ।

मोरङको सुन्दरहरैंचाका गणेश पराजुली भन्छन्, ‘एक हप्तासम्म आज हुन्छ कि भोलि हुन्छ कि भन्दै धाइरहेको छु’, मालपोत कार्यालय अगाडि भेटिएका पराजुलीले भने, ‘कर्मचारीले कहिले सर्भर छैन भन्छन्, कहिले नेट छैन भन्छन् । आफूभन्दा ढिलो आउनेको केहीको काम भइरहेको देख्छु ।’

२०५५ सालमा स्थापना भएको मालपोत कार्यालयले १ सय ४७ औ शाखाका रूपमा अनलाइन सेवा दिन थालेको १० दिन बित्न नपाउँदै सेवाग्राहीको गुनासो बढ्दै जान थालेको छ । ‘मालपोत कार्यालयमा आउने गुनसोको अन्त्य हुने भन्दै अनलाइन प्रविधि मार्फत सेवा दिन थालिएको रहेछ’, पराजुलीले भने, ‘तर यो पहँुच हुनेलाई मात्रै रहेछ ।’

यता कार्यालयका प्रमुख योगेन्द्रप्रसाद दुलालले नयाँ प्रविधि भएकाले काम ढिलो भएको बताए । उनले साँघुरो कोठाबाट सेवा दिनु पर्दा समेत ढिलो भएको बताए । दक्ष जनशत्ति नपठाई विभागले हतारमा प्रविधि ल्याउँदा ढिलो भएको उनको भनाइ छ ।
‘४ जना कर्मचारीले अनलाइनबाट सेवा दिन्छन्,’ प्रमुख दुलालले भने, ‘तर काम भने एउटै कोठाबाट गर्नुपर्छ ।’ समयसमयमा नेट जाने तथा कर्मचारी पनि नयाँ भएकाले समस्या भएको उनको भनाइ छ ।

प्रदेश नम्बर १ का झापा, मोरङ तथा सुनसरीका मालपोत कार्यालय अनलाइन प्रविधिबाट सुचारु भएका छन् । सो प्रविधिमा जग्गाधनीको फोटो, मोबाइल नम्बर, औँठाछापसहित तीनपुस्ते विवरण राखिने मालपोत कार्यालयले जनाएको छ । प्रविधिवाट सेवा सुरु गरे पनि अहिले नै ढड्डा भने बन्द गर्न नसकिने प्रमुख दुलालले बताए ।

यता, सेवाग्राही भने कर्मचारी र लेखापढी व्यवसायी मिलेर घुस लिने गरेकाले घुस नदिनेको काम ढिलो हुने गरेको आरोप लगाउँछन् ।

अनलाइन प्रविधिको उद्घाटन गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गोकर्णमणि दवाडीले मालपोत कार्यालयमा आउने गुनसोको अन्त्य हुने बताएका थिए । उनले कर्मचारीले कमिसन लिने गरेको भन्ने गुनासोसमेत अन्त्य हुने विश्वास दिलाएका थिए ।