विराटनगरः विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख राजस्व सङ्कलन भएको थियो ।

गत वर्षको तुलनामा ४१ दशमलव ५४ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको सो कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आर्थिक वर्षमा कार्यालयले वार्षिक ४२ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांशु अधिकारीले बताए ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल ८ अर्ब १२ करोड १ लाख, मूल्य अभिवृद्धि कर १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क १ अर्ब ८ करोड ९३ लाख सङ्कलन भएको छ ।

कार्यालयले भन्सार जाँचमा सहज, मालवस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाइ, चोरी÷निकासी नियन्त्रण तथा गस्तीलगायतबाट राजस्व सङ्कलन भएको जनाएको छ ।