गाईघाटः उदयपुरको चौदण्डी गढी नगरपालिकामा बृहत् रूपमा आलु खेती गरिएको छ ।

नगरपालिकाका विभिन्न वडाका झण्डै ५ सय भन्दा बढी किसानले चौदण्डी नगरपालिकाको सहयोगमा यसपटक ९० टन आलुको बीउ प्रयोग गरेर बृहत् आलु खेती शुरु गरेको नगरपालिकाले बताएको छ ।

चौदण्डीको वडा नम्बर ३ को हँडिया क्षेत्र, सुन्दरपुर, वडा नम्बर ५ को बसाहा तथा सुधारे, शरिबारे, बेल्टार रानीबास, भिमाहा र ज्यामिरे क्षेत्रमा बृहत् आलु खेती गरिएको हो । नगरपालिकाले ती क्षेत्रमा आलु खेतीको लागि यस पटक २० लाख रुपैयाँ लगानी गरेको नगरप्रमुख खगेन्द्र राईले बताए ।

किसानले १ हजार टनसम्म आलु उत्पादन गर्ने लक्ष्य राखेको राई बताउँछन् । नगरका किसान र जनतालाई बाहिरी तरकारी आयात कम गरेर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन ५० प्रतिशत आर्थिक अनुदान र ५० प्रतिशत किसानको लगानीमा बृहत् आलुखेती शुरु गरेको नगरपालिकाले बताएको छ ।

चौदण्डी–३ हँडियाका किसान दुर्गानन्द चौधरी भन्छन्, ‘नगरपालिकाले ५० प्रतिशत आर्थिक अनुुदान दिएको र किसानलाई आलु उत्पादन गर्न प्रोत्साहन गरेपछि यस क्षेत्रका सबै आलु खेतीमा लागेका छौँ । आलु उत्पादन राम्रो हुने अपेक्षा छ ।’

उत्पादित आलु खरीदका लागि नगरपालिकाले सहयोग तथा पहल गर्ने भएपछि यस क्षेत्रका किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत तारामणि राईका अनुसार नगरपालिकालाई आलु क्षेत्र तथा तरकारीको पकेट क्षेत्र घोषणा गरी तरकारीमा आत्मनिर्भर बनाउन यो अभियान चालिएको हो ।