बेलबारीः भीडभाड हुने मालपोत कार्यालयहरूमा १२ घण्टा सेवा दिने घोषणा केही वर्ष अघि भूमिसुधार मन्त्रालयले गर्याे । केही महिनासम्म सो निर्णय लागू भए पनि कर्मचारी अभाव देखाउँदै कार्यालयहरूले ६ घण्टा मात्रै सेवा दिने गरेका छन् ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो तथा काममा सहजता आउने भन्दै मालपोत कार्यालय बेलबारीले केही दिनअघि मात्रै अनलाइन सेवाको बिस्तार गरेको थियो । सेवा बिस्तार गरेपछि कार्यालयले दिने सेवा छरितो हुने भन्दा पनि पहुँच हुनेको भरमा मात्रै पर्न थालेको भनी सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।

‘जग्गा नामसारी गर्न ३ दिनदेखि लगातार धाइरहेको छु तर काम भएको छैन’, बेलबारीका दीपेन्द्र पोद्दारले भने, ‘बिहान बेलुका मात्रै काम हँुदो रहेछ ।’ कार्यालयभित्र जाँदा तपार्इंको पालो आएको छैन भन्दै फर्काउने गरेको उनले बताए ।

मालपोत कार्यालय अहिले भ्रष्टाचारको अखडासमेत बन्दै गइरहेको सेवाग्राहीको दुखेसो रहेको छ । कार्यालय खुल्ने समय बिहान १० बजेदेखि भए पनि पहुँच हुँदा तथा पैसा दिँदा बिहान सात बजेदेखि नै काम हुने गरेको छ ।

‘कर्मचारीले मूल गेटमा ताला लगाएर छेउमा रहेको ढोका खोलेर काम गर्दा रहेछन्’, एक सेवाग्राहीले नाम नभन्ने शर्तमा भने, ‘दिउँसो आउँदा सर्भर छैन भनेर पठाउँदा रहेछन् ।’

२०५४ सालमा स्थपना भएको मालपोत कार्यालयले १ सय ४७ औ शाखाका रूपमा अनलाइन सेवा दिन थालेको २ हप्ता बित्न नपाउँदै झन् गुनासो बढ्दै जान थालेको छ । मालपोत कार्यालयमा आउने गुनसोको अन्त्य हुने भन्दै अनलाइन प्रविधिमार्फत् सेवा दिन थालिए पनि कर्मचारीहरूको कमाइ खाने थलोको रूपमा विकास भइरहेको स्थानीयको भनाइ छ ।

यता, कार्यालयका प्रमुख योगेन्द्रप्रसाद दुलालले विभागसँग कुरा गरेर केही समयका लागि खुला गरिएको बताएका छन् । उनले शुरुमा कार्यालय समयमा मात्रै काम गरिने बताए पनि बिहानै कार्यालय कक्षको भीडको तस्बिर देखाएपछि आफ्नो भनाइ सच्याएका थिए । केही समयका लागि विभागसँगको सहकार्यमा बिहान खोलिने गरेको भनी उनले बताए ।

प्रदेश नम्बर १ का झापा, मोरङ तथा सुनसरीका मालपोत कार्यालयमा अनलाइन प्रविधिबाट शुरु गरिएको छ । सो प्रविधिमा जग्गाधनीको फोटो, मोबाइल नम्बर, औठाछापसहित तीनपुस्ते विवरण राखिने मालपोत कार्यालयले जनाएको छ । प्रविधिमैत्री सेवा शुरु गरे पनि अहिले नै ढड्डा भने बन्द गर्न नसकिने प्रमुख दुलालले बताए ।

अनलाइन प्रविधिको उद्घाटन गर्दै भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक गोकर्णमणि दवाडीले मालपोत कार्यालयमा आउने गुनासोको अन्त्य हुने बताएका थिए । उनले कर्मचारीहरूले कमिसन लिने गरेको भन्ने गुनासो समेत अन्त्य हुने बताएका थिए ।